नेभिगेशन
नेपाल प्रहरी

ट्राभल एजेन्सी 'प्याकेज अफर' का नाममा करोडौं ठगी: ६ भारतीयसहित ७ जना पक्राउ

काठमाडौं । काठमाडौँ महानगरपालिका–१० थापागाउँमा सञ्चालनमा रहेको एक ट्राभल एजेन्सीमार्फत ठगी गरिएको आरोपमा प्रहरीले ७ जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा ६ जना भारतीय नागरिक र एक जना नेपाली नागरिक रहेका छन्।

उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले चैत ३ गते उक्त एजेन्सीमा छापा मार्दा उनीहरू पक्राउ परेका हुन्। अनुसन्धानका क्रममा उनीहरूले सर्वसाधारणलाई विभिन्न देशमा घुम्न पठाउने प्रलोभन देखाएर ठूलो रकम असुलेको खुलेको छ।

प्रहरीका अनुसार, आरोपितहरूले युरोप, एसिया र अफ्रिका लगायत १७५ देशमा पर्यटक भिसामा भ्रमण गराउने भन्दै आकर्षक ‘प्याकेज अफर’ सार्वजनिक गरेका थिए। उनीहरूले सपिङ मलहरूमा अस्थायी ‘ट्राभल डेस्क’ राखेर ग्राहकको विवरण संकलन गर्ने र पछि ‘चिट्ठा परेको’ बहाना बनाएर अफिसमा बोलाउने रणनीति अपनाएका थिए।

अफिसमा बोलाएपछि ७ दिनदेखि ५ वर्षसम्मका विभिन्न प्याकेज देखाई रकम बुझाउन लगाइन्थ्यो। तर, सम्झौता अनुसार सेवा नदिई उनीहरूले ठगी गर्ने गरेको प्रहरीको भनाइ छ।

यसरी ठगीबाट करिब २ करोड ७२ लाख रुपैयाँ संकलन गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। यस प्रकरणमा हालसम्म ३२८ जनाले उजुरी दिएका छन्।

साथै, उक्त ट्राभल एजेन्सी सरकारी अनुमति बिना सञ्चालनमा रहेको पनि पुष्टि भएको प्रहरीले जनाएको छ। पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको छ भने आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँमा पठाइएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्