नेभिगेशन
नेपाल प्रहरी

'बाइक हस्पिटल' को नाममा मोटरसाइकल चोरी धन्दा, प्रहरीको छापामा गिरोह पक्राउ

काठमाडौं ।  “बाइक हस्पिटल” नामक ग्यारेज सञ्चालन गरी विभिन्न स्थानबाट मोटरसाइकल चोरी गर्ने र इन्जिन तथा चेसिस नम्बरमा किर्ते कागजात तयार गरी बिक्री गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी परिसर ललितपुर र  प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई ललितपुर को महालक्ष्मी नगरपालिका–५ टिकाथली क्षेत्रमा रहेको 'बाइक हस्पिटल' नाम गरेको ग्यारेजबाट  चोरीका मोटरसाइकलसहित नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ।

पक्राउ पर्नेहरूमा सर्लाही बरहथवा नगरपालिका–२ घर भई हाल महालक्ष्मी–५ टिकाथली बस्ने २३ वर्षीय विशाल महतो, सर्लाही बरहथवा–२ घर भई हाल काठमाडौं महानगरपालिका–२३ नरेफाट बस्ने २९ वर्षीय भिमबहादुर अधिकारी तथा रौतहट वृन्दावन नगरपालिका–९ घर भई हाल काठमाडौं कोटेश्वर बस्ने २७ वर्षीय संजिव कुमार कुसवाहा रहेका छन्।

प्रहरीका अनुसार उनीहरूको साथबाट केटीएम ड्युक २५०, केटीएम ड्युक २००, रोयल एनफिल्ड ३५० र केटीएम एडभेन्चर २५० गरी चार वटा मोटरसाइकल तथा तीन थान ब्लुबुक बरामद गरिएको छ।

उनीहरूविरुद्ध चोरी तथा किर्ते सम्बन्धी मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्