नेभिगेशन
नेपाल प्रहरी

वैदेशिक रोजगारीको प्रलोभनमा पारेर युरोप पठाउने भन्दै लाखौं रुपैयाँ ठगी गर्ने ५ जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाई विभिन्न देश पठाइदिने भन्दै सर्वसाधारणबाट रकम ठगी गरेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा काठमाडौं कीर्तिपुर नगरपालिका–७ बस्ने बर्दिया घर भएका ३६ वर्षीय अर्जुन बहादुर पौडेल, ललितपुर महालक्ष्मी नगरपालिका–७ बस्ने सर्लाही घर भएका ४६ वर्षीय डिल्ली राम भुजेल, काठमाडौं महानगरपालिका–१६ बस्ने ४३ वर्षीया उमा गुरूङ, ललितपुर महानगरपालिका–७ बस्ने कास्की घर भएका ३३ वर्षीय आशिष महत तथा भक्तपुर मध्यपुर थिमी नगरपालिका–४ बस्ने रामेछाप घर भएकी ३५ वर्षीया संगिता श्रेष्ठ रहेका छन्।

प्रहरीका अनुसार उनीहरूले आकर्षक तलबमा वैदेशिक रोजगारीमा पठाइदिने भन्दै विभिन्न व्यक्तिबाट रकम उठाएर सम्पर्कविहीन भएका थिए। अर्जुन बहादुर पौडेलले क्रोएशिया पठाइदिने भन्दै एक जना पीडितबाट ३ लाख ३० हजार रुपैयाँ ठगी गरेका छन् भने डिल्ली राम भुजेलले माल्दिभ्स पठाइदिने भन्दै २ लाख ९९ हजार रुपैयाँ लिएका छन्।

त्यसैगरी उमा गुरूङले बेलायत पठाइदिने भन्दै २ लाख रुपैयाँ, आशिष महतले बेलायत पठाइदिने भन्दै २३ लाख रुपैयाँ तथा संगिता श्रेष्ठले पोर्चुगल पठाइदिने भन्दै ३ लाख ६८ हजार रुपैयाँ असुलेको प्रहरीले जनाएको छ।

पीडितहरूको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको हो।

पक्राउ परेका सबैलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्