नेभिगेशन
अदालत

३ लाख घुस प्रकरणमा वडाध्यक्ष यादवलाई १ वर्ष कैद सजाय

काठमाडौं । ३ लाख घुस प्रकरणमा पक्राउ परेका एक वडाध्यक्षलाई अदालतले दोषी ठहर हुँदै १ वर्षको कैद सजाय पाएका छन् । रुपन्देहीको मर्चवारी गाउँपालिका–३ का वडाध्यक्ष जनार्दन यादव विरुद्धको मुद्दामा विशेष अदालतले यस्तो फैसला सुनाएको हो।

विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइराला सम्मिलित इजलासले यादवलाई भ्रष्टाचारको आरोपमा दोषी ठहर गरेको हो।

अनुसन्धानका क्रममा यादवले व्यापारी विपिनकुमार पाण्डेय मार्फत ३ लाख रुपैयाँ घुस लिएको खुलेको थियो। अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बुटवलको टोलीले उनीहरूलाई गत असार २३ गते सोही रकमसहित रंगेहात पक्राउ गरी मुद्दा दायर गरेको थियो।

अदालतले वडाध्यक्ष यादव र घुस लेनदेनमा संलग्न पाण्डेय दुवैलाई जनही एक वर्ष कैद र १ लाख ५० हजार रुपैयाँ जरिवाना गर्ने निर्णय सुनाएको छ।

यादवले वडाभित्र सञ्चालन भएका विभिन्न विकास योजनाको भुक्तानी सिफारिस गर्ने बहानामा सिद्धार्थनगर–९ मा रहेको ‘श्री गणेश ट्रेडिङ’का सञ्चालक पाण्डेयमार्फत घुस असुलेको पुष्टि भएको अदालतले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्