नेभिगेशन
अदालत

केपी शर्मा ओली र रमेश लेखकलाई आज अदालत उपस्थित गराइँदै

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकलाई आइतबार अदालतमा उपस्थित  गराइने भएको छ। शनिबार सार्वजनिक बिदा परेकाले उनीहरूलाई त्यस दिन अदालत लैजान नसकिएको प्रहरीले जनाएको छ।

प्रहरीले दुवै जनालाई थप अनुसन्धानका लागि थुनामा राख्ने अनुमति माग्दै जिल्ला सरकारी वकिलको कार्यालय हुँदै जिल्ला अदालत काठमाडौँमा उपस्थित गराउने तयारी गरेको छ। कानुनअनुसार अनुसन्धानका क्रममा २४ दिनसम्म हिरासतमा राख्न सकिने भए पनि त्यसका लागि अदालतको स्वीकृति आवश्यक पर्नेछ।

पक्राउ परेका ओली स्वास्थ्य समस्याका कारण अस्पतालमा भर्ना भएका छन् भने लेखकलाई महाराजगन्जस्थित २ नम्बर गणमा राखिएको छ।

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनसँग सम्बन्धित घटनाबारे छानबिन गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वको आयोगले दिएको प्रतिवेदन कार्यान्वयनका क्रममा प्रहरीले शनिबार बिहान भक्तपुरबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो।

उक्त आयोगले आन्दोलनका क्रममा भएको मानवीय क्षतिमा लापरबाही र कमजोरी देखिएको ठहर गर्दै तत्कालीन प्रधानमन्त्री ओली, तत्कालीन गृहमन्त्री लेखक तथा नेपाल प्रहरीका तत्कालीन महानिरीक्षक चन्द्रकुबेर खापुङविरुद्ध अनुसन्धान गरी मुद्दा चलाउन सिफारिस गरेको थियो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्