नेभिगेशन
नेपाल प्रहरी

नेपालगन्जका चार होटलमा छापा: अवैध यौन गतिविधिको आरोपमा १६ जना पक्राउ

बाँके । अवैध यौनधन्दा नियन्त्रणका लागि प्रहरीले सञ्चालन गरेको विशेष अपरेसन अन्तर्गत नेपालगन्ज बजार क्षेत्रबाट १६ जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको टोलीले नेपालगन्जका विभिन्न चार होटलमा छापा मार्दा १२ महिला र ४ पुरुषलाई नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार मिलन कटेज, सौगात होटल, नमस्ते होटल र मध्यपश्चिम होटलमा अवैध रूपमा यौनधन्दा सञ्चालन भइरहेको सूचनाका आधारमा एकैसाथ कारबाही गरिएको थियो।

प्रहरीले होटल सञ्चालकसहित पक्राउ परेका १६ जनालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ। पक्राउ परेकामध्ये होटल सञ्चालकहरूविरुद्ध वेश्यावृत्ति सञ्चालन गरेको आरोपमा मुद्दा दर्ता गरिनेछ भने अन्य महिला तथा पुरुषलाई पनि उक्त गतिविधिमा संलग्न रहेको आधारमा कानुनी दायरामा ल्याइने प्रहरीको भनाइ छ।

यस घटनाबारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्