नेभिगेशन
नेपाल प्रहरी

एकैदिन २२ फरार प्रतिवादी पक्राउ, बाँके प्रहरीको विशेष अपरेसन सफल

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले फरार प्रतिवादी पक्राउ गर्ने विशेष अभियान अन्तर्गत एकैदिन २२ जनालाई नियन्त्रणमा लिन सफल भएको छ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार सोमबार सञ्चालन गरिएको उक्त अपरेसनमा जिल्ला प्रहरी कार्यालय, वडा प्रहरी कार्यालय नेपालगन्ज तथा फैसला कार्यान्वयन टोलीको संयुक्त सक्रियतामा विभिन्न मुद्दाका २२ फरार प्रतिवादीहरू पक्राउ परेका हुन्।

अदालतबाट फैसला भइसकेपछि लामो समयदेखि फरार रहँदै आएका ती प्रतिवादीहरू नेपालगन्ज लगायतका स्थानमा लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका सबै २२ जनालाई आवश्यक कारबाहीका लागि सोही दिन बाँके जिल्ला अदालतमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ।

प्रहरी प्रमुख अंगुर जिसीको नेतृत्वमा सञ्चालन गरिएको विशेष अभियानलाई सफल मानिएको छ। फरार अपराधीलाई नियन्त्रणमा लिन प्रहरीले आगामी दिनमा पनि यस्ता अभियानलाई निरन्तरता दिने जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्