नेभिगेशन
नेपाल प्रहरी

घरभित्र पसेको भन्दै ११ वर्षीय बालकमाथि निर्घात कुटपिट, तीन जना पक्राउ

दाङ । एक बालकलाई घरभित्र प्रवेश गरेको भन्दै निर्घात कुटपिट गरिएको घटनामा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

रोल्पाको गंगादेव गाउँपालिका–५ कुइनेटाका पूर्णबहादुर विकका ११ वर्षीय छोरामाथि वैशाख ११ गते साँझ निर्घात आक्रमण भएको प्रहरीले जनाएको छ। कुटपिटका क्रममा बालकको दाहिने आँखामा गम्भीर चोट लागेको छ। उनलाई जोगाउन पुगेका अर्का एक व्यक्तिमाथि पनि आक्रमण गरिएको बताइएको छ।

जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख डीएसपी विरेन्द्र विश्वकर्माका अनुसार घटनामा संलग्न तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको छ। यद्यपि पक्राउ परेकाहरूको परिचय भने सार्वजनिक गरिएको छैन।

बालकमाथि भएको कुटपिटको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले घटनालाई प्राथमिकताका साथ अनुसन्धान थालेको हो। पीडित पक्षले सोमबार प्रहरीमा लिखित उजुरी दिएको थियो।

प्रहरीका अनुसार पक्राउ परेकामाथि सोधपुछ जारी छ र उनीहरूमाथि भेदभाव तथा अपमानजन्य व्यवहारसम्बन्धी कसुरमा मुद्दा चलाउने तयारी भइरहेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्