नेभिगेशन
नेपाल प्रहरी

नेपालगन्ज बसपार्क क्षेत्रमा आतंक मच्चाउने ‘डिम्याक्स’ पक्राउ, रातिमा गाडीका सिसा फुटाउँदै हिँड्थे ‘डिम्याक्स’

बाँके । पछिल्लो समयमा बाँके प्रहरी गुण्डागर्दीविरुद्ध झनै आक्रामक बन्दै गएको छ। जिल्ला प्रहरी बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) अंगुर जिसीले गुण्डागर्दीप्रति शून्य सहनशीलता लागू गरेसँगै बाँके प्रहरीले नेपालगन्ज बसपार्क क्षेत्रमा आतंक मच्चाउने ४१ वर्षीय ‘डिम्याक्स’ भनिने दोर्ण थापालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार डिम्याक्सले आतंक मच्चाउदै बसपार्क लगायत आसपास क्षेत्रमा पार्किङ गरेर राखिएका गाडीका सिसा फुटाउने र तोडफोड गर्ने कार्यमा संलग्न रहेको प्रमाण फेला परेपछि उनलाई पक्राउ गरिएको हो। नेपालगन्ज उपमहानगरपालिका–४ बस्ने डिम्याक्स यसअघि पनि बसपार्क क्षेत्रमा गाडी तोडफोडमा संलग्न रहँदै आएको प्रहरीले जनाएको छ।

बैशाख १८ गते राति नेपालगन्ज उपमहानगरपालिका–२ पुष्पलाल चोकस्थित सगरमाथा होटेल अगाडि पार्किङ गरी राखिएको प्र।०२–००ख०९३३ नम्बरको फोर्स गाडीमा सिसा फुटाएको सिसीटिभी फुटेज फेला परेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो। प्रहरीले डिम्याक्सविरुद्ध आपराधिक उपद्रवसम्बन्धी कसूरमा बाँके जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाएको जनाएको छ।

यसअघि पनि बसपार्क क्षेत्र वरपर पार्किङ गरिएका सवारी साधनहरूमा तोडफोड र सिसा फुटाउने घटनाहरू भइरहेका भन्दै प्रहरीमा उजुरी परेको थियो। प्रारम्भिक अनुसन्धानका क्रममा बसपार्कभित्र पार्किङ गराउन दबाब सिर्जना गर्ने उद्देश्यले बाहिर राखिएका सवारी साधनमा क्षति पुर्‍याउने रणनीति अपनाइएको पाइएको प्रहरीले जानकारी दिएको छ।

बाँके प्रहरीका अनुसार डिम्याक्सले बसपार्कभित्र पार्किङ गराउने समूहको संरक्षणमा बाहिर पार्किङ गरिएका सवारी साधनलाई लक्षित गरी सिसा फुटाउने तथा टायरको हावा निकाल्ने जस्ता गतिविधि गर्दै आएको खुलेको छ। यसरी बाहिर पार्किङ असुरक्षित देखाउने र सवारीधनीलाई बाध्य पारेर बसपार्कभित्र पार्किङ गराउन प्रेरित गर्ने उद्देश्य रहेको प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरीले जनाएको छ।

घटनामा संलग्न अन्य व्यक्तिहरूको भूमिकाबारे समेत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। बाँके प्रहरीले गुण्डागर्दीविरुद्धको कारबाहीलाई थप तीव्र बनाउँदै आगामी दिनमा यस्ता अवैध तथा आपराधिक गतिविधिविरुद्ध अझ सशक्त रूपमा प्रस्तुत हुने स्पष्ट पारेको छ। प्रहरीले शान्ति सुरक्षामा खलल पुर्‍याउने जो–कोहीलाई कानुनी दायरामा ल्याइने प्रतिबद्धता समेत व्यक्त गरेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्