नेभिगेशन
नेपाल प्रहरी

ड्युटीमा खटिएका महिला प्रहरीमाथि अभद्र व्यवहार गर्ने पाँच जना पक्राउ

चन्द्रौटा । ड्युटीमा खटिएका महिला प्रहरीलाई अश्लील गाली र अभद्र व्यवहार गरेको आरोपमा पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ।

घटना वैशाख १९ गते रातिको हो। कपिलवस्तुको शिवराज नगरपालिका–५ अन्तर्गत पर्ने चन्द्रौटा–कृष्णनगर सडक खण्डमा शंकास्पद रूपमा हिँडिरहेका उनीहरूलाई प्रहरीले सोधपुछ गर्ने क्रममा विवाद भएको थियो। प्रहरीका अनुसार सोधपुछकै क्रममा उनीहरूले प्रहरीमाथि दुर्व्यवहार गर्न थालेपछि नियन्त्रणमा लिनु परेको हो।

वडा प्रहरी कार्यालय चन्द्रौटाबाट खटिएको टोलीले होटल प्याराडाइज नजिकै उनीहरूलाई फेला पारेको थियो। पक्राउ पर्नेहरूमा काठमाडौँ तारकेश्वरकी २६ वर्षीया अन्जना तामाङ, प्युठानकी २० वर्षीया वर्षा सुनार, कपिलवस्तु विजयनगरका २२ वर्षीय मनोज गुप्ता, शिवराज नगरपालिका–का २७ वर्षीय दीपेन्द्र कुमार चौधरी तथा भारतको सिद्धार्थनगरका २८ वर्षीय रन्जित चौधरी रहेका छन्।

प्रहरीका अनुसार उनीहरूले विशेषगरी महिला प्रहरी कर्मचारीहरूलाई लक्षित गर्दै अश्लील शब्द प्रयोग गरेका थिए। साथै गालीगलौज गर्दै ड्युटीमा अवरोध पुर्‍याएको आरोप छ। सम्झाउने प्रयास गर्दा पनि उनीहरू आक्रामक बनेर होहल्ला गरेपछि तत्काल नियन्त्रणमा लिइएको जनाइएको छ।

हाल पाँचै जनामाथि अभद्र व्यवहार सम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको छ। जिल्ला प्रशासन कार्यालय कपिलवस्तुबाट पाँच दिनको म्याद थप गरी उनीहरूलाई हिरासतमा राखिएको प्रहरीले जनाएको छ।घटनाबारे थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढिरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्