नेभिगेशन
नेपाल प्रहरी

ब्रतबन्धको जमघटपछि विवाद, कैलालीबाट बोलाइएका साथीको आक्रमणमा बाँकेका युवकको हत्या

६ जना बाँके प्रहरीको नियन्त्रणमा

नेपालगञ्ज । सामान्य विवादले उग्र रूप लिँदा बाँकेमा एक युवकको ज्यान गएको छ । कैलालीबाट मध्यरातमै साथीहरू बोलाएर गरिएको आक्रमणमा खजुरा गाउँपालिका–६ का २१ वर्षीय विशाल चन्द ठकुरीको हत्या भएको खुलेको छ ।मंगलबार बिहान करिब ५ बजेतिर भएको आक्रमणमा गम्भीर घाइते भएका ठकुरीलाई बिहान ६ बजे नेपालगञ्जस्थित सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेज पुर्‍याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए ।

प्रहरीका अनुसार ठकुरी आफ्ना साथी नेपालगञ्ज–१२ बेलासपुरका प्रितम अधिकारीको ब्रतबन्ध कार्यक्रममा सहभागी हुन आएका थिए । कार्यक्रमपछि सुत्ने ठाउँ अभाव भएपछि ठकुरीसहित सबै साथीहरु नजिकैका आफन्त दीपेन्द्र रोकायाको घरमा बसेका थिए । सोही घरमा बसेर रमाइलो गर्ने क्रममा बिहान करिब २ बजेतिर दीपेन्द्रराज गिरी र ठकुरीबीच सामान्य विषयमा विवाद भएको थियो । उक्त विवादपछि गिरी बाहिर निस्केर आफ्ना साथीहरूलाई कैलालीको लम्कीचुहाबाट नेपालगञ्ज बोलाएका थिए ।

गिरीको फोनपछि २० वर्षीय बिबिएस कुँवर, १८ वर्षीय सुशिल खत्री र २० वर्षीय खकेन्द्र देवकोटा दुई मोटरसाइकलमा रातारात नेपालगञ्ज आइपुगे । बिहान करिब ५ बजेतिर आइपुगेका उनीहरूले गिरीसँग मिलेर सुतिरहेको अवस्थामा ठकुरीमाथि चक्कु र बियरका बोतल प्रयोग गरी आक्रमण गरेका थिए । ज्यान जोगाउन भाग्ने क्रममा ठकुरीलाई करिब सय मिटरसम्म लखेट्दै कुटपिट गरिएको र अन्ततः उनी बाटोमै ढलेपछि पनि आक्रमण जारी राखिएको प्रहरीले जनाएको छ ।

घटनापछि फरार भएका अभियुक्तहरूलाई प्रहरीले सिसिटिभी फुटेजको आधारमा खोजी गर्दै बर्दियाको ठाकुरबाबा नगरपालिका–२ अम्रेनीबाट मंगलबार साँझ पक्राउ गरेको हो । यस घटनामा संलग्नताको आरोपमा कालिकोटका १८ वर्षीय सन्तोष संज्याल र सुर्खेतका २० वर्षीय रूपेश थापा पनि पक्राउ परेका छन् । उनीहरू पनि ब्रतबन्धमा सहभागी भएका थिए । उनीहरूको भूमिकाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । आक्रमणमा जुम्लाका २० वर्षीय योगेन्द्र कामी घाइते भएका थिए । उपचारपछि उनी डिस्चार्ज भइसकेका छन् ।

घटनास्थलबाट प्रहरीले चक्कु र बियरका फुटेका बोतलका टुक्रा बरामद गर्नुका साथै प्रयोग गरिएको मोटरसाइकल समेत नियन्त्रणमा लिएको छ । पक्राउ परेकाहरूविरुद्ध म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्