काठमाडौं । लागुऔषधविरुद्धको कारबाहीमा प्रहरीले देशका विभिन्न स्थानबाट २२ जनालाई पक्राउ गरेको छ।
मकवानपुरको बकैया गाउँपालिका–७ हर्दाबाट ३ ग्राम २८० मिलिग्राम खैरो हेरोइन र नाइट्राभेट ५ ट्याब्लेटसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा ३३ वर्षीय विजय भोलन, २३ वर्षीय विशाल लोप्चन, ३४ वर्षीय संजिव लामा र बारा घर भएका १८ वर्षीय एक किशोर रहेका छन्। प्रहरी चौकी हात्तीसुडेबाट खटिएको टोलीले विजयको घर तलासी गर्दा लागूऔषध फेला पारेको हो।
बर्दियाको बढैयाताल गाउँपालिका–६ रानीपुरबाट ७१० मिलिग्राम ब्राउन सुगरसहित २ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा २० वर्षीय अनिल विक र १९ वर्षीय पवन पुन मगर रहेका छन्। इलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो।
झापाको मेचीनगर नगरपालिका–६ मेचीडाँडाबाट ७ ग्राम ९२० मिलिग्राम खैरो हेरोइनसहित २६ वर्षीय दावा तामाङ पक्राउ परेका छन्। लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो।
मोरङको कानेपोखरी गाउँपालिका–५ माझी टोलबाट ५८० मिलिग्राम ब्राउन सुगरसहित ३ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा २५ वर्षीय अकेस माझी, २९ वर्षीय अर्जुन माझी र १७ वर्षीय एक किशोर रहेका छन्। प्रहरी चौकी रमाइलोबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो।
मोरङको रंगेली नगरपालिका–४ चोप्राहबाट ७ ग्राम ५९० मिलिग्राम खैरो हेरोइनसहित २९ वर्षीय मुकेश महतो पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय रंगेली र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो।
त्यसैगरी रंगेली नगरपालिका–४ चोप्राहबाटै २० ग्राम ९०० मिलिग्राम खैरो हेरोइनसहित २ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा २१ वर्षीय समिर राई र ३४ वर्षीय शक्ति राई रहेका छन्। भारतबाट नेपालतर्फ आउँदै गरेको मोटरसाइकलमा सवार उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
यस्तै, रंगेली नगरपालिका–४ बाट ३ ग्राम खैरो हेरोइनसहित २५ वर्षीय कार्तिक कुमार मण्डल पक्राउ परेका छन्।
पर्साको वीरगञ्ज महानगरपालिका–१६ बाट ३ ग्राम ४२ मिलिग्राम खैरो हेरोइनसहित ३४ वर्षीय संजय साह पक्राउ परेका छन्। प्रहरी चौकी इनर्वा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय वीरगञ्जबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो।
कैलालीको भजनी नगरपालिका–८ बदला चोकबाट १ ग्राम ६०० मिलिग्राम खैरो धुलो पदार्थसहित २ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा २५ वर्षीय विष्णु कठायत र १९ वर्षीय धर्मेन्द्र शाह रहेका छन्।
यस्तै, कैलालीको गौरीगंगा नगरपालिका–८ चमारीपुरबाट १ ग्राम १५० मिलिग्राम खैरो हेरोइनसहित १७ वर्षीय एक किशोर पक्राउ परेका छन्।
कास्कीको पोखरा महानगरपालिका–११ तुल्सी मार्गबाट २९ वर्षीय सागर थापा मगरलाई ट्रामाडोल ८२ ट्याब्लेट र टापेन्टाडोल १४ ट्याब्लेटसहित पक्राउ गरिएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको टोलीले उनको कोठा तलासी गर्दा लागूऔषध फेला पारेको हो।
दाङको घोराही उपमहानगरपालिका–१९ दुईखोली टोल नजिकबाट ९० मिलिग्राम ब्राउन सुगरसहित २० वर्षीय कमल डाँगीसहित २ जना पक्राउ परेका छन्। मोटरसाइकलमा सवार उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
नवलपरासी पश्चिमको सुनवल नगरपालिका–४ बेलारीबाट २ किलोग्राम गाँजासहित ५२ वर्षीय तारा बहादुर क्षेत्री पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय सुनवलबाट खटिएको टोलीले उनको घर तलासी गर्दा गाँजा फेला पारेको हो।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।