नेभिगेशन
नेपाल प्रहरी

प्रहरीको विशेष अपरेशनमा २३ सय बढी फरार प्रतिवादी पक्राउ

काठमाडौं । फरार प्रतिवादी पक्राउ अभियान अन्तर्गत नेपाल प्रहरीले २ हजार ३ सय बढीलाई पक्राउ गर्न सफल भएको छ। बैशाख महिनामा  देशभरबाट विभिन्न मुद्दाका २ हजार ३ सय १९ जना फरार प्रतिवादीलाई पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।

प्रहरी प्रधान कार्यालयका अनुसार पक्राउ परेकामध्ये केन्द्रीय अनुसन्धान ब्यूरोबाट १२ जना, काठमाडौं उपत्यका प्रहरी कार्यालयबाट ३ सय ६६ जना, कोशी प्रदेशबाट ३ सय २६ जना, मधेश प्रदेशबाट ७ सय ३० जना, बागमती प्रदेशबाट १ सय ९९ जना, गण्डकी प्रदेशबाट २ सय ४ जना, लुम्बिनी प्रदेशबाट ३ सय ३० जना, कर्णाली प्रदेशबाट ६८ जना तथा सुदूरपश्चिम प्रदेशबाट ८४ जना रहेका छन्।

वैशाख महिनाको अवधिमा पक्राउ परेका प्रतिवादीहरूलाई अदालतले तोकेको ८ सय २५ वर्ष २ महिना २५ दिन कैद सजाय कार्यान्वयन गरिएको प्रहरीले जनाएको छ। साथै उनीहरूबाट २१ करोड ५३ लाख ६९ हजार १ सय १० रुपैयाँ जरिवाना असुलउपर गरिएको प्रहरीले जनाएको छ।

कर्तव्य ज्यान, लागुऔषध, जबरजस्ती करणी, बैंकिङ कसुर, ठगी लगायतका विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका प्रतिवादी पक्राउ गर्न विशेष अभियान सञ्चालन गरिएको पनि प्रहरीले उल्लेख गरेको छ।

 

 

.

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्