नेभिगेशन
नेपाल प्रहरी

व्यवसायीक पत्रकार सुरक्षामा बाँके प्रहरी सधैं अग्रपङ्क्तिमा छ: बाँके प्रहरी प्रमुख जिसी

'सुरक्षा बिटमा जोखिम मोलेर काम गर्ने पत्रकारलाई पनि पुरस्कृत गरियोस् भन्ने मेरो सुझाव'- जिसी

नेपालगन्ज । बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) अङ्गुर जिसीले  व्यवसायीक पत्रकारको सुरक्षाका विषयमा आफू दृढ रहेको बताएका छन्।

आज नेपाल पत्रकार महासंघ बाँके शाखाको १५ औं  साधारण सभामा अतिथिका रूपमा बोल्दै एसपी जिसीले खोजमूलक र निष्पक्ष सुरक्षा पत्रकारिता गर्ने बाँकेका व्यवसायीक पत्रकारसहित सबै पत्रकारको सुरक्षामा बाँके प्रहरी सधैँ अग्रपङ्क्तिमा रहने स्पष्ट पारे। “प्रहरी र व्यवसायीक पत्रकारबीचको सम्बन्ध नङ र मासुको जस्तै हो, अझ सुरक्षा बिटमा काम गर्ने पत्रकारसँग त सम्बन्ध झन् गाढा हुन्छ,” उनले भने।

एसपी जिसीले अन्य विभिन्न क्षेत्रमा काम गर्ने व्यवसायीक पत्रकारहरूलाई पुरस्कृत गरिएकोमा खुशी व्यक्त गर्दै सुरक्षा बिटमा जोखिम मोलेर राम्रो काम गर्ने पत्रकारहरलाई पनि  आगामी दिनमा पुरस्कृत गर्नुपर्ने सुझाव दिए। “सुरक्षा बिटमा जोखिम मोलेर काम गर्ने त्यस्ता सुरक्षा पत्रकार साथीहरुलाई अब महासंघका अध्यक्ष नवीन गिरीको बाँकी कार्यकालमै पुरस्कृत गरियोस् भन्ने मेरो सुझाव छ,” उनले भने।

उनले पत्रकारलाई व्यवसायीक भएर पत्रकारिता गर्न पनि आग्रह गरे। उनले मञ्चमा सबैले राम्रो कुरा गर्ने भए पनि आफ्नो पेशागत जिम्मेवारीबारे आत्मसमीक्षा गर्नुपर्ने बताए।

“हामी यो मञ्चमा त सबैले राम्रा नै कुरा गर्छौं। तर हामी कति व्यवसायिक छौं भन्ने चाहिँ आफ्नै छातीमा हात राखेर सोच्नुपर्छ,” जिसीले भने।

एसपी जिसीले प्रहरीभित्र पनि राम्रा र कमजोरी दुवै पक्ष रहेको उल्लेख गर्दै पत्रकारितामा पनि त्यस्तै अवस्था रहेको बताए। उनले पत्रकारिता अत्यन्त संवेदनशील पेशा भएको भन्दै गलत वा अपुष्ट सूचनाले सुरक्षामा समेत जोखिम निम्त्याउन सक्ने सुझाव  दिए।

“नागरिकसमक्ष पुर्याउने सूचना सही हुनुपर्छ। कहिलेकाहीँ गलत सूचनाका कारण सुरक्षामै खतरा  आउँछ। त्यसैले कलम चलाउनुभन्दा अगाडि तीनपटक सोचेर अत्यन्त संवेदनशील भएर लेख्नुपर्छ,” उनले भने। उनले पत्रकारिताबारे सुनेका केही धारणा र आफ्नो अनुभवबारे पनि टिप्पणी गरेका थिए। “पत्रकार मिलाउनुपर्छ, पत्रकार सेटिङ गर्नुपर्छ” भन्ने कुरा सुनेको भए पनि आफ्नो आठ महिनाको कार्यकालमा त्यसको व्यवहारिक अनुभव नभएको बताए।

“मेरो आठ महिनाको कार्यकालमा यहाँ देखिएका अनुहारमध्ये धेरैलाई म चिन्दिनँ। तर मेरो बारेमा त्यस्तो नभएका समाचारहरू आएको पनि मैले पाएको छैन,” उनले भने। उनले आफूले गरेको कामकै आधारमा मूल्याङ्कन हुने विश्वास व्यक्त गर्दै राम्रो कर्मको फल राम्रो नै आउने बताए। “आफ्नो ठाउँमा मैले कस्तो कर्म गरिरहेको छु, त्यसको फल त्यस्तै आउने हो,” उनले भने।

यसैगरी उनले न्यायप्रेमी पत्रकारहरूले पनि निष्पक्ष र तथ्यमा आधारित भएर समाचार सम्प्रेषण गर्नेमा आफू विश्वस्त रहेको बताए। कार्यक्रममा समग्र रूपमा पत्रकार र प्रहरीबीचको सहकार्य अझ सुदृढ बनाउनुपर्ने उनको सन्देश थियो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्