नेभिगेशन
नेपाल प्रहरी

तुलसीपुरमा किशोरीमाथि सामूहिक बलात्कार: दुई जना पक्राउ, एक फरार

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका क्षेत्रमा एक किशोरीमाथि सामूहिक बलात्कार भएको घटना सार्वजनिक भएको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ भने एक जना अझै फरार रहेका छन्।

प्रहरीका अनुसार बलात्कारको आरोपमा पक्राउ पर्नेमा तुलसीपुर–१० बनगाउँका २४ वर्षीय ओम चौधरी र २२ वर्षीय राजेन्द्र चौधरी रहेका छन्। सोही स्थानका अन्दाजी २५ वर्षीय राजेश चौधरी भने फरार छन् र उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार ओम र पीडित १९ वर्षीया किशोरीबीच प्रेम सम्बन्ध रहेको खुलेको छ। ओमले विवाहको आश्वासन दिँदै जेठ ५ गते राति उनलाई भेट्न बोलाएका थिए। त्यस क्रममा उनले आफ्ना दुई साथीसहित एकान्त स्थानमा भेटघाट गरेका थिए।

प्रारम्भिक अनुसन्धानअनुसार ओमले महिलालाई दबाब र आश्वासन दिँदै शारीरिक सम्बन्ध बनाउन बाध्य पारेका थिए। त्यसपछि उनका साथीहरू पनि त्यहाँ आइपुगी डर–त्रास देखाउँदै पालैपालो बलात्कार गरेको आरोप छ। घटना पश्चात तीनै जना किशोरीलाई त्यहीँ छाडेर फरार भएको प्रहरीको भनाइ छ।

घटनापछि पीडित किशोरीले भोलिपल्ट बिहान आफन्तको सहयोगमा इलाका प्रहरी कार्यालय तुलसीपुरमा किटानी जाहेरी दिएकी थिइन्। जाहेरी दर्ता भएसँगै प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको हो।

हाल पक्राउ परेकामाथि अदालतबाट म्याद थप गरी ‘जबरजस्ती सामूहिक करणी’ मुद्दामा अनुसन्धान भइरहेको छ। फरार रहेका एक जनाको खोजी तीव्र पारिएको दाङ  प्रहरीले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्