नेभिगेशन
ट्राफिक प्रहरी

बाँकेमा ट्राफिक प्रहरीको एकहप्ते अभियान: ११ सय बढी सवारीसाधनमा नम्बर प्लेट सुधार

बाँके । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले नम्बर प्लेट अस्पष्ट, पुराना तथा नम्बर नदेखिने र अन टेस्टका ११ सय बढी सवारी साधनमा नम्बर प्लेट सुधार गर्न लगाएको छ।

सडक सुरक्षा अभिवृद्धि गर्ने उद्देश्यले जेठ ८ गतेदेखि सञ्चालन गरिएको एक हप्ते विशेष अभियान अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्यालय तथा मातहतका इकाईले  जिल्लाभित्रका र विभिन्न जिल्लाबाट बाँकेमा भित्रिने तथा बाहिरिने सवारी साधनहरूको जाँच गरेको थियो।

जाँचका क्रममा पुराना, अस्पष्ट तथा नम्बर प्लेट स्पष्ट नदेखिने र अन टेस्टका ११ सय ६१ वटा सवारी साधनलाई सडकमै रोक्दै चालकलाई सम्झाइ–बुझाइ गरी नम्बर प्लेट स्पष्ट रूपमा लेख्न लगाइएको ट्राफिक प्रहरीले जनाएको छ।

बाँके ट्राफिक प्रहरी कार्यालयका अनुसार अस्पष्ट नम्बर प्लेट र अन टेस्टका कारण सवारी साधन पहिचान गर्न कठिन हुने, अपराध अनुसन्धानमा समस्या आउने तथा दुर्घटना व्यवस्थापनमा समेत असर पर्ने भएकाले अभियान सञ्चालन गरिएको हो।

अभियानका क्रममा चालक तथा सवारीधनीहरूलाई ट्राफिक नियम, सडक सुरक्षा र जिम्मेवार सवारी सञ्चालन सम्बन्धी प्रशिक्षण तथा सचेतना कार्यक्रम समेत सञ्चालन गरिएको थियो।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले स्पष्ट र मापदण्डअनुसारको नम्बर प्लेटले सवारी साधनको पहिचान सहज बनाउनुका साथै सडक सुरक्षामा महत्वपूर्ण योगदान पुग्ने भएकाले यस्ता अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिइने जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्