नेभिगेशन
ट्राफिक प्रहरी

चोरी भएका ४० सवारीसाधन धनीलाई फिर्ता, चोरीमा संलग्न ४५ जना पक्राउ

काठमाडौं । काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट चोरी भएका ४० वटा दुई पाङ्ग्रे सवारी साधन (मोटरसाइकल र स्कुटर) सम्बन्धित धनीलाई फिर्ता गरिएको छ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले बुधबार आयोजित कार्यक्रममा २५ वटा मोटरसाइकल र १५ वटा स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण गरेको हो। कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले सवारी साधनका धनीलाई चाबी हस्तान्तरण गरेका हुन् ।

ट्राफिक प्रहरीका अनुसार प्राप्त निवेदन तथा विभिन्न माध्यमबाट प्राप्त सूचनाका आधारमा खोजतलास गर्दा केही सवारी साधन वास्तविक नम्बर प्लेट र केही नक्कली नम्बर प्लेट प्रयोग गरिएको अवस्थामा फेला परेका थिए। ती सवारी साधन काठमाडौँ उपत्यकाका सिम्ले, गुर्जुधारा, धर्मस्थली, नयाँ बसपार्क, जम्बुडाँडा, सातदोबाटो, काँडाघारी, बानेश्वर, जोरपाटी, गोकर्ण, कीर्तिपुर, सुकेधारा, चुनेदेवी, नैकाप, सुन्दरीजल, बौद्ध र जयबागेश्वरीलगायत क्षेत्रबाट बरामद गरिएको ट्राफिक  प्रहरीले जनाएको छ।

कार्यालयका अनुसार गत साउनयता बरामद गरिएका ५०२ वटा सवारी साधन सम्बन्धित धनीलाई जिम्मा लगाइसकिएको छ। यस अवधिमा चोरी भएका ३० वटा दुई पाङ्ग्रे सवारी साधनसहित चोरीमा संलग्न ४५ जनालाई नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि विभिन्न प्रहरी परिसर तथा वृत्तमा पठाइएको छ।

सवारी साधन फिर्ता पाएपछि धनीहरूले खुसी व्यक्त गर्दै ट्राफिक प्रहरीप्रति आभार प्रकट गरेका थिए।

कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक अधिकारीले सवारी साधन सुरक्षित स्थानमा पार्किङ गर्न, ह्यान्डिल लक, डिस्क लक तथा सुरक्षा साइरन प्रयोग गर्न, जीपीएस जडान गर्न तथा सुनसान स्थानमा सवारी साधन पार्किङ नगर्न आग्रह गररे।

सवारी साधन हराएमा ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३, नेपाल प्रहरीको हटलाइन नम्बर १०० मा सम्पर्क गर्न वा नजिकको प्रहरी तथा ट्राफिक प्रहरी कार्यालयमा निवेदन दिन सकिने उनले जानकारी दिए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्