नेभिगेशन
सुरक्षा विशेष

कप्तानगञ्जमा दुई समुदायबीच झडप, प्रहरीको गोली लागेर एक जनाको मृत्यु, १५ घाइते

सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा दुई समुदायबीच भएको झडपमा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी चन्द्र खड्काका अनुसार घटनामा स्थानीय ओमप्रकाश मेहताको ज्यान गएको हो।

प्रहरीका अनुसार सोमबार राति करिब साढे १० बजेदेखि सुरु भएको झडप नियन्त्रणमा लिन नेपाल प्रहरीले ३ राउण्ड हवाई फायर गरेको थियो भने सशस्त्र प्रहरी बलले ७ राउण्ड गोली चलाएको थियो। मृतक मेहतालाई लागेको गोली कुन हतियारबाट प्रहार भएको हो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

घटनामा नेपाल प्रहरीका इन्स्पेक्टर राकेश राईसहित १० जना प्रहरी र सशस्त्र प्रहरी बलका ५ जना सुरक्षाकर्मी घाइते भएका छन्। त्यसबाहेक झडपमा ९ जना स्थानीय पनि घाइते भएको प्रहरीले जानकारी दिएको छ।

प्रारम्भिक जानकारीअनुसार कप्तानगञ्जस्थित एक मन्दिरमा ठूलो आवाजमा डिजे बजाइएको विषयलाई लिएर हिन्दु र मुस्लिम समुदायबीच विवाद सुरु भएको थियो। सुरक्षा अधिकारीहरूका अनुसार त्यसअघि सो क्षेत्रमा रहेको बिजुलीको पोलमा राखिएको मुस्लिम समुदायको झण्डा हटाएर हिन्दु समुदायको झण्डा राखिएको घटनाले पनि तनाव बढाएको थियो।

घटनापछि सुरक्षा व्यवस्था कडा पारिएको छ भने झडपको कारण र मृत्युको वास्तविक अवस्थाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्