नेभिगेशन
सुरक्षा अपडेट

बेपत्ता भएका कपिलवस्तुका पूर्वमेयर किरण सिंह जङ्गलमा मृत भेटिए

कपिलवस्तु । तीन दिनदेखि सम्पर्कविहीन रहेका कपिलवस्तु नगरपालिकाका पूर्वमेयर किरण सिंह मृत फेला परेका छन्। सिंहको शव आइतबार मध्याह्न ढेकरी जंगल क्षेत्रमा फेला परेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी उपरीक्षक मनोहरप्रसाद भट्टले जानकारी दिए।

६५ वर्षीय सिंह शुक्रबार दिउँसो बुद्धभूमि नगरपालिका क्षेत्रमा पर्ने ढेकरी जंगल पुगेपछि सम्पर्कविहीन भएका थिए। कृषि फर्म सञ्चालनका लागि भइरहेको कामको निरीक्षण गर्न पुगेका उनी जंगलमा बाटो बिराएपछि व्यवसायिक साझेदारलगायत केही व्यक्तिलाई फोनमार्फत आफू समस्यामा परेको जानकारी गराएका थिए।

प्रहरीका अनुसार शुक्रबार साँझ करिब साढे ५ बजेसम्म सिंहसँग मोबाइल सम्पर्क भएको थियो। त्यसपछि भने उनीसँग सम्पर्क हुन सकेन। राति करिब १ बजेसम्म उनको मोबाइलमा घण्टी गए पनि फोन उठेको थिएन। त्यसपछि मोबाइलसमेत सम्पर्कविहीन बनेको थियो।

सिंह हराएपछि प्रहरीले नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीयको सहभागितामा जंगल क्षेत्रमा व्यापक खोजी अभियान सञ्चालन गरेको थियो। शनिबार मात्रै ८० भन्दा बढी नेपाल प्रहरी, करिब ५० जना सशस्त्र प्रहरी र सयभन्दा बढी स्थानीय खोजीमा परिचालन भएका थिए।

खोजीका क्रममा भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको ‘के–नाइन’ शाखाबाट तालिमप्राप्त कुकुर ल्याएर जंगलका सम्भावित क्षेत्रमा खोजी गरिएको थियो। त्यस्तै ड्रोनको प्रयोग गरी समेत जंगलको निगरानी गरिएको थियो। यद्यपि शनिबारसम्म सिंहको अवस्थाबारे कुनै ठोस जानकारी प्राप्त हुन सकेको थिएन।

खोजीका क्रममा सिंहले प्रयोग गरेको लु १ प ७८७९ नम्बरको एभेन्जर मोटरसाइकलसमेत जंगलभित्र खोल्सो पार गर्न नसकेको अवस्थामा फेला परेको थियो। त्यसपछि प्रहरीले मोटरसाइकल भेटिएको क्षेत्रलाई समेत केन्द्रित गरी खोजी तीव्र बनाएको थियो। आइतबार मध्याह्न सोही क्षेत्रमा सिंहको शव फेला परेको प्रहरी उपरीक्षक भट्टले बताए। ‘उहाँको शव केहीबेर अगाडि फेला परेको छ,’ उनले भने, ‘घटनाबारे अनुसन्धान गरिरहेका छौं।’

प्रहरीले सिंहको मृत्युको कारण तथा घटनाको अन्य पक्षबारे अनुसन्धान अघि बढाएको जनाएको छ। सिंह २०७४ सालको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट कपिलवस्तु नगरपालिकाको मेयरमा निर्वाचित भएका थिए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्