नेभिगेशन
नेपाल प्रहरी

लागूऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ

काठमाडौं । प्रहरीले देशका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित १४ जनालाई पक्राउ गरेको छ।

झापाको मेचीनगर नगरपालिका–६ स्थित मेची पुलबाट २ ग्राम ९ सय ७० मिलिग्राम खैरो हेरोइनसहित मेचीनगर नगरपालिका–१० बस्ने २३ वर्षीय सुरेश उराव पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

यसैगरी झापाकै अर्जुनधारा नगरपालिका–८ शनिश्चरे बजारबाट १० ग्राम २ सय मिलिग्राम ब्राउनसुगरसहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सोही ठाउँका ३९ वर्षीय प्रमोद शाह र अर्जुनधारा नगरपालिका–१ का २३ वर्षीय राज बिष्ट छन्। उनीहरूले प्रयोग गरेको को।५ प ४४१३ नम्बरको मोटरसाइकलसमेत प्रहरीले बरामद गरेको छ।

मकवानपुरको हेटौंडा उपमहानगरपालिका–५ पिप्लेबाट ५ सय २० मिलिग्राम खैरो हेरोइनसहित सोही ठाउँका २९ वर्षीय रोहन सिंह पक्राउ परेका छन्। अनुसन्धानका क्रममा उक्त लागूऔषध सोही ठाउँमा डेरा गरी बस्ने पर्साका २४ वर्षीय सुरज साहले बिक्री गरेको खुलेपछि उनलाई समेत प्रहरीले पक्राउ गरेको छ।

हेटौंडा उपमहानगरपालिका–९ सुकुम्बासी टोलबाट १ ग्राम १ सय ९० मिलिग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सोही ठाउँका २४ वर्षीय शरण कार्की र भीमफेदी गाउँपालिका–५ का २७ वर्षीय मिलन स्याङ्बो छन्।

त्यस्तै हेटौंडा उपमहानगरपालिका–४ कमलडाँडाबाट ४० मिलिग्राम खैरो हेरोइनसहित हेटौंडा–१० भुटनदेवीका २९ वर्षीय दिप लामा पक्राउ परेका छन्।

मोरङको बेलबारी नगरपालिका–४ बाबुराम टोलका ३२ वर्षीय योगेश लिम्बु नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ९२ ट्याब्लेट र डाइक्लोमाइन १ सय ८५ ट्याब्लेटसहित पक्राउ परेका छन्। कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरबाट खटिएको टोलीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारेको हो।

यसैगरी विराटनगर महानगरपालिका–१६ बाट ६ ग्राम ५ सय १० मिलिग्राम खैरो हेरोइन र नियन्त्रित लागूऔषध नाइट्राभेट ६० ट्याब्लेटसहित धरान उपमहानगरपालिका–१३ का ३३ वर्षीय राजु विश्वकर्मा पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई पक्राउ गरेको हो।

पर्साको बिन्दाबासिनी गाउँपालिका–४ अमरपट्टीबाट करिब ५ सय ग्राम गाँजासहित भारत मोतिहारी सिस्वा पञ्चायतका ६५ वर्षीय प्रेत राय पक्राउ परेका छन्। नेपालबाट भारततर्फ पैदल जाँदै गरेका उनलाई प्रहरी चौकी अमरपट्टीबाट खटिएको टोलीले पक्राउ गरेको हो।

धनुषाको बिदेह नगरपालिका–८ बफैबाट १४ ग्राम ४ सय मिलिग्राम खैरो हेरोइनसहित सोही ठाउँका २२ वर्षीय अजय कुमार मण्डल पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीले अनटेस्ट लेखिएको मोटरसाइकलमा सवार उनलाई पक्राउ गरेको हो।

सुनसरीको धरान उपमहानगरपालिका–१९ गैरीगाउँका २३ वर्षीय पुजन श्रेष्ठ १ ग्राम १ सय ३० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ परेका छन्। अस्थायी प्रहरी चौकी तीनकुनेबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा ब्राउनसुगर फेला पारेको हो।

यसैगरी सुनसरीको इनरुवा नगरपालिका–४ बसचोकबाट ५ ग्राम ४ सय ९० मिलिग्राम ब्राउनसुगरसहित तीन जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा इटहरी उपमहानगरपालिका–१ का २७ वर्षीय सुरज माझी, २० वर्षीय तोरण माझी र ३० वर्षीय मनिष माझी छन्।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्