नेभिगेशन
नेपाल प्रहरी

७५ वर्षीय वृद्धको हत्या आरोपमा माइली बुहारी पक्राउ

जाजरकोट । जाजरकोटको जुनिचाँदे गाउँपालिका–५ पाँगामा ७५ वर्षीय गंगाराम शाहीको हत्या गरेको आरोपमा प्रहरीले उनकी माइली बुहारी शर्मिला शाहीलाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार गत साउन ११ गते राति करिब ८ बजे शाही आफ्नै घरको सिँढी नजिकै घाँटीमा धारिलो हतियार प्रहार भएको अवस्थामा मृत फेला परेका थिए। घटनास्थलबाट हत्यामा प्रयोग भएको भनिएको हँसिया/खुकुरीसमेत प्रहरीले बरामद गरेको थियो।

घटनाबारे अनुसन्धानका क्रममा मृतकका जेठा छोरा राजकुमार शाहीले असोज ७ गते शर्मिलाविरुद्ध किटानी जाहेरी दिएका थिए। जाहेरीपछि प्रहरीले शर्मिलालाई आफ्नै घरबाट पक्राउ गरी असोज ८ गते जिल्ला प्रहरी कार्यालय जाजरकोटमा ल्याएको जनाएको छ।

प्रहरीले घटनाको अनुसन्धानका लागि जाजरकोट जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्दामा पहिलोपटक १० दिनको म्याद थप गराएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्