नेभिगेशन
नेपाल प्रहरी

घोराहीमा दुई जुवाखालमा प्रहरीको छापा, १७ जना पक्राउ

दाङ । दाङको घोराहीमा प्रहरीले शनिबार साँझ एकै समयमा दुई स्थानमा सञ्चालन भइरहेको जुवाखालमा छापा मार्दा १७ जनालाई पक्राउ गरेको छ । प्रहरीले जुवाखालबाट ५ लाख १२ हजार ७ सय रुपैयाँ नगद र ६ गड्डी तास बरामद गरेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी हेमबहादुर केसीको नेतृत्वमा खटिएको प्रहरी टोलीले गोप्य सूचनाका आधारमा जुवाखालमा छापा मारेको हो । प्रहरीले शनिबार साँझ साढे ५ बजेतिर घोराही उपमहानगरपालिका–१८ नवलपुरस्थित बसन्त बुढाथोकीको घरमा जुवातास खेलिरहेको अवस्थामा छापा मारेको थियो । उक्त स्थानबाट ९ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा घोराही–१४ स्वर्गद्वारी टोलका ४८ वर्षीय नवलसिंह डाँगी, घोराही–१३ डुमरगाउँका ४३ वर्षीय निमबहादुर भण्डारी र सोही ठाउँका ४३ वर्षीय तुलबहादुर खड्का, घोराही–१४ जनचेतना टोलका ३५ वर्षीय रामकृष्ण खड्का, घोराही–१८ का घरधनी ४७ वर्षीय बसन्त बुढाथोकी, घोराही–१४ का ४० वर्षीय यदुनाथ पाण्डे, घोराही–१० का ४० वर्षीय हिमराज केसी, घोराही–१४ का ३५ वर्षीय निमेश भण्डारी र सोही वडाको नयाँबजारका ४१ वर्षीय चन्द्रदेव बुढा रहेका छन् ।

उक्त जुवाखालबाट प्रहरीले ४ लाख ८ हजार १ सय २० रुपैयाँ नगद र तीन गड्डी तास बरामद गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एक्कबहादुर नेपालीले जानकारी दिएका छन् ।

त्यसको करिब आधा घण्टापछि प्रहरीले घोराही–१५ जानकीटोलस्थित भुपबहादुर डाँगीको घरमा पनि छापा मारेको थियो । उक्त स्थानबाट घरधनी डाँगीसहित ८ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा घोराही–१५ जानकीटोलका ६० वर्षीय केशरबहादुर पछाई, सोही ठाउँका घरधनी ६८ वर्षीय भुपबहादुर डाँगी, ६४ वर्षीय लुमासिंह बस्नेत, ६५ वर्षीय निमबहादुर पुन, ५२ वर्षीय गिरीराज केसी, घोराही–१४ का ५३ वर्षीय ओबिन्द्र महरा, घोराही–१६ का ४७ वर्षीय तारा डाँगी र रोल्पाको रुन्टीगढी गाउँपालिका–५ का ३९ वर्षीय हिरालाल रावत रहेका छन् ।

प्रहरीका अनुसार उक्त घरबाट १ लाख ४ हजार ५ सय ८० रुपैयाँ नगद र तीन गड्डी तास बरामद गरिएको छ ।

दुवै स्थानमा गरिएको कारबाहीका क्रममा प्रहरीले कुल ५ लाख १२ हजार ७ सय रुपैयाँ नगद र ६ गड्डी तास बरामद गरेको छ । पक्राउ परेका सबै १७ जनालाई जिल्ला प्रहरी कार्यालयमा राखेर थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक नेपालीले जानकारी दिएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्