नेभिगेशन
ट्राफिक प्रहरी

कोहलपुरमा २ सय ५० बढी चालक र सह-चालकको आँखा परीक्षण

कोहलपुर । बाँकेको कोहलपुरमा सवारी चालक र सह-चालकको आँखा परीक्षण गरिएको छ । कोहलपुर बसपार्कबाट सञ्चालित सवारी साधनका चालक र सह-चालकका लागि निःशुल्क आँखा शिविरको आयोजना गरी आँखाको परीक्षण तथा चेकजाँच गरिएको हो ।

कोहलपुरस्थित इलाका प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयको आयोजना तथा कोहलपुर नगरपालिका, फत्तेबाल आँखा अस्पताल बाँके र बागेश्वरी यातायात प्रालिको सहकार्यमा आज शिविर सम्पन्न भएको हो ।  

कोहलपुर नगरपालिका मेयर पूर्ण प्रसाद आचार्यले सवारी चालकको लागि आँखा स्वस्थ हुन आवश्यक रहेको बताउँदै सवारी चालक र सह-चालकको आँखा नियमितरुपमा परीक्षण गर्नुपर्ने बताए । आँखाको चेकजाँचबाट चालक वा सह-चालकको आँखाको अप्रेशन गर्नुपर्ने अवस्था आएमा कोहलपुर नगरपालिकाले फत्तेबाल अस्पतालको सहकार्यमा आवश्यक सहयोग गर्ने आचार्यले बताए । “हामी आँखाको अप्रेशन गर्नुपरेमा आवश्यक सहयोग गर्न तयार छौं,” उनले भने-“फत्तेबाल आँखा अस्पतालसँग हाम्रो सहकार्य हुनेछ ।”

त्यसैगरी इलाका प्रहरी कार्यालय कोहलपुर प्रमुख डीएसपी लक्ष्मी खनालले सवारी दुर्घटना न्यूनीकरणका लागि सहयोग पुग्ने उद्देश्यका साथ आँखा शिविर आयोजना गरिएको बताइन् । उनले सवारी दुर्घटनाका विभिन्न कारणमध्ये आँखाको कमजोरी पनि एक हुने भएकाले सवारी चालक र सहचालकको आँखा स्वस्थ हुनुपर्ने बताइन्  । 

बाँके जिल्लामा चालू आर्थिक वर्षमा ४ सय ९ वटा सवारी साधान दुर्घटनामा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कोहलपुर बाँकेका प्रमुख प्रहरी निरीक्षक पुष्करराज पन्तले जानकारी दिए । कार्यक्रममा यातायात व्यवसायी, सवारी चालक लगायत २ सय ५० बढीले आँखाको परीक्षण गराएका छन् ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्