सौरभ गिरी/काठमाडौं । बाँके ट्राफिक प्रहरी कार्यालयको कारबाहीमा ३७ हजार बढी सवारीसाधनलाई कारबाही गर्दै पौने ४ करोड रुपैयाँ बढीको राजस्व संकलन गरिएको छ। गत साउनदेखि असार मसान्तसम्ममा बाँकेभर गरिएको ट्राफिक कारबाहीमा ३ करोड २६ लाख ७ हजार ५ सय रुपैयाँ राजस्व संकलन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक पुष्कर पन्तले जानकारी दिएका छन।
ट्राफिक प्रमुख पन्तका अनुसार उक्त अवधिमा ट्राफिक नियम उल्लंघन गरेर चलाइएका ३७ हजार ४३५ सवारी साधनलाई कारबाही गरिएको थियो।
ट्राफिक प्रमुख पन्तका अनुसार उक्त अवधिमा ट्राफिक नियम उल्लंघन गरेर चलाइएका ३७ हजार ४३५ सवारी साधनतर्फ ४२ सय ८८ ट्रक-टिपर, ८४३९ वटा बस तथा मिनि बस, ६५ सय ५५ जिप,१४ हजार ५०२ मोटरसाइकल ,१२ सय १८ वटा ट्याक्टर र ट्राफिक नियमविपरीत चलेका २३ सय २३ वटा टेम्पलाई कारबाही गरिएको छ।
ट्रक-टिपरलाई गरिएको कारबाहीमा ४२ लाख ६२ हजार रुपैयाँ,बसतर्फ ८६ लाख १७ हजार, जिपबाट ५३ लाख ९२ हजार, मोटरसाइकलबाट ९५ लाख १ हजार र ट्याक्टरतर्फबाट ९ लाख ८४ हजार ५ सय रुपैयाँ र टेम्पो लगायतबाट १५ लाख ११ हजार रुपैयाँ राजस्व संकलन गरिएको पन्तले जानकारी दिएका छन् ।
यसैगरी जिल्लाभर विभिन्न स्थानमा भएका ८ सय ५२ सवारी दुर्घटनामा ७० जनाको मृत्यु भएको छ। उक्त दुर्घटनामा परी ५५ जना पुरुष,१० महिला,४ बालक र एक बालिकाको मृत्यु भएको हो। प्रहरी निरीक्षक पन्तले दिएको जानकारी अनुसार एक वर्षको अवधिमा भएको १०२ जना पुरुष,२० महिला,१६ बालक र ४ बालिका गम्भीर घाइते हुँदा ४९७ जना पुरुष,१७६ महिला र ७० बालक तथा ४१ जना बालिका सामान्य घाइते भएका छन् ।
आ.व. ०८१-०८२ को अन्तिमसम्ममा चौपायातर्फ भएका ५७७ दुर्घटनामा २२ चौपायाको मृत्यु हुँदा ७ चौपाया घाइते भएको ट्राफिक प्रहरी प्रमुख पन्तले बताए । त्यस अवधिमा सबैभन्दा बढी ४८५ वटा मोटरसाइकल दुर्घटना परेका थिए।
ट्राफिक प्रहरीले एक वर्षको दौरानमा २५ सय ५५ पटक ट्राफिक सचेतना कार्यक्रम गरेकोमा २ लाख ३२ हजार १८७ जना सर्वसाधारण लाभान्वित भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख पन्तले जानकारी दिए।
लाखौं सर्वसाधारणलाई ट्राफिक सचेतना कक्षा दिदै गर्दा जिल्लाका विभिन्न स्थानमा नागरिक सुनुवाइ कार्यक्रम गरिएको थियो भने सवारी साधनको मेकानिकल जाँच लगायत चालक तथा सहचालकका लागि आँखा शिविर गरिएको पन्तले बताए।