सौरभ गिरी/नेपालगन्ज । बाँके जिल्लाको सबैभन्दा ठूलो बजार हनेपालगन्जमा बढी चहलपहल हुने हुँदा दैनिक ठूलो सङ्ख्यामा सवारीसाधन, अटो रिक्सा र ठेलाको व्यवस्थापन हुन नसक्दा यहाँको ट्राफिक व्यवस्थापनमा निकै समस्या रहदै आएको छ।
ट्राफिक व्यवस्थापनको समस्या र अस्तव्यस्त रुपमा सवारी साधन पार्किङलाई मध्यनजर गर्दै ट्राफिक प्रहरी कार्यालय नेपालगन्जले बजार क्षेत्रको अव्यवस्थित पार्किङलाई व्यवस्थापन गर्न सुरु गरेको छ । सडकमा सवारी साधन यत्रतत्र पार्किङ गरेर राख्दा बजारमा आवागमन र दुर्घटनाको जोखिम बढ्ने हुँदा त्यसलाई मध्यनजर गरेर पार्किङ व्यवस्थापन गर्न थालिएको नेपालगन्ज ट्राफिक प्रहरी पोष्टका इन्चार्ज प्रहरी वरिष्ठ नायब निरीक्षक ( वरिष्ठ सई) नन्द कुमार पोखरेलले बताए।

वरिष्ठ सई पोखरेल भन्छन् -" बजार क्षेत्रमा आउने सवारीधनीले जथाभावी रोकेर सवारी साधन राख्दा दुर्घटनाको डर बढ्यो, सवारी साधन दैनिक बढिरहेको अवस्थामा ट्राफिक प्रहरीले पार्किङ व्यवस्थापन गरिरहेका छौँ।”
नेपालगन्जमा सबैभन्दा ठुलो समस्याका रूपमा रहेको अटो र ठेला व्यवस्थापनका लागि नेपालगन्ज उपमहानगरपालिकले कदम चाल्नुपर्ने वरिष्ठ सई पोखरेल बताउँछन् । यदि उपमहानगरपालिकाले मात्रै अटो र ठेला व्यवस्थापन गरिदिए ट्राफिक प्रहरीले अव्यवस्थित पार्किङको समस्या समाधान गर्न सक्ने पोखरेलले बताए।
जनशक्ति अभावका बाबजुद नेपालगन्जस्थित ट्राफिक प्रहरीले बजारको अव्यवस्थित पार्किङलाई व्यवस्तित गर्ने कार्य गर्दै आउँदा नेपालगन्ज उपमहानगरपालिकाले यी ध्यान दिन जरुरी रहेको सम्बन्धित सरोकारवालाको भनाइ छ।
नेपालगन्जको अव्यवस्थित पार्किङ, रिक्सा र ठेलाको अव्यवस्थित भिडभाडलाई ट्राफिक प्रहरीले पहिलादेखि व्यवस्थित गर्ने प्रयास गरेपनि नेपालगन्ज उपमहानगरपालिकाको चासो नै नदेखिएको पाइएको हो।

आज मात्रै नेपालगन्जस्थित ट्राफिक प्रहरी र जनपद प्रहरी बजार क्षेत्रमा अव्यवस्थित पार्किङलाई व्यवस्थित गर्न लाग्दा नगर प्रहरीको उपस्थिति शुन्य देखिएको स्थानीय रमेश गिरीले बताए। उनी भन्छन्-" बजार क्षेत्रमा जबसम्म उपमहानगरपालिकाले चासो दिदैन तबसम्म समस्या समाधान हुदैन। ट्राफिक प्रहरीको एक्लो प्रयासले सबै सम्भव देखिदैन।"
घर तथा पसल अगाडिको पैदलयात्रु हिड्ने बाटोमा पैदलयात्रुको आवतजावतमा समेत प्रभाव पार्ने गरी सवारी साधन पार्किङ, निर्माणजन्य सामग्री, पसलका सामान, पसलको बोर्ड, फोहोर डष्टबिन नराख्न ट्राफिक प्रहरीले माइकिङ गरेर अनुरोध गरेको वरिष्ठ सई पोखरेलले बताए । अब यस्तो गरेमा कानुनी कारबाहीको दायरामा ल्याइने जानकारी गराएको पोखरेलले बताए।
नेपालगन्जमा जथाभावी रुपमा गाडी रोकेर राख्ने , अव्यवस्थित तरिकाले अटो गुडाउने तथा पार्किङ गर्ने र ठेला मनपरी पार्किङ गर्नेलाई तत्काल कारबाही गर्नुपर्छ र यसमा स्थानीय निकाय, प्रहरी - प्रशासनले कडाइ गर्नुपर्नेमा स्थानीयहरुको जोड छ। यता ट्राफिक प्रहरीले पनि आजदेखि कडाइ गर्दै अब जथाभावी पार्किङ गर्नेलाई कारबाही गर्ने जानकारी दिएको छ।
