नेभिगेशन
ट्राफिक प्रहरी

ट्राफिक प्रहरीले फेला पार्‍यो चोरी भएका ४१ वटा दुई पाङ्ग्रे सवारी साधन

काठमाडौं । ट्राफिक प्रहरीले चोरी भएका ४१ वटा दुई पाङ्ग्रे सवारी साधन  फेला पारेर (मोटरसाइकल र स्कुटर) सवारी धनीलाई हस्तान्तरण गरेको छ।

काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट चोरी भएका ४१ वटा मोटरसाइकल र स्कुटरको खोजतलास गरी काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले आज सम्बन्धित धनीलाई आबश्यक कागजात जाँच गरेर हस्तान्तरण गरेको हो। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रमका बिच कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले १९ मोटरसाइकल र २२वटा स्कुटर सम्बन्धित धनीलाई  हस्तान्तरण गरेका हुन् ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा प्राप्‍त निवेदनका आधारमा खोजी गर्ने क्रममा केही वास्तविक नम्बर प्लेटमा र केही नक्कली नम्बर प्लेट राखेको अवस्थामा  काठमाडौँ उपत्यका स्थित जगाती, ठिमी, थली, नरेफाँट, काडाँघारी,लैनचौर,चापागाउँ नयाँबानेश्वर, हात्तिसार,एयरपोर्ट,सिफल,पुरानोबसपार्क, स्वयम्भू, गोकर्ण, सुन्दरीजल, कपन, धापाखेल, गल्फुटार, नेपालटार,नयाँबसपार्क र बालाजु लगायतका स्थानबाट उक्त सवारी साधन ट्राफिक प्रहरीले फेला पारेकोट्राफिक प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक दिपक गिरीले जानकारी दिएका छन् ।

प्रवक्ता गिरीका अनुसार आज बुझाइएका ४१ वटा सहित ५२ वटा सवारी साधन गत साउन महिनादेखी आजसम्म ट्राफिक प्रहरीले धनीलाई जिम्मा लगाइसकेको छ । 

चोरीका २ वटा दुई पाङ्ग्रे सवारी साधन सहित चोरीमा संलग्न ३ जना व्यक्तिहरूलाई पनि नियन्त्रणमा  लिएर आवश्यक कारबाहीका लागि विभिन्न प्रहरी परिसर तथा प्रहरी वृत्तमा पठाइएको गिरीले बताए।

प्रहरी उपरीक्षक गिरीले दिएको जानकारी अनुसार आर्थिक वर्ष २०८०-०८१ मा ४१७ वटा र ०८१-०८२ मा ५ सय ३वटा दुई पाङ्ग्रे सवारी साधन खोजतलास गरी ट्राफिक प्रहरीले सम्बन्धित धनीलाई जिम्मा लगाइसकेको छ । 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्