नेभिगेशन
सुरक्षा विशेष

मूर्ति विसर्जनलाई लिएर दुई समूहबीच झडप,निषेधाज्ञा जारी

काठमाडौं । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २०, रुपैठामा दुई समुदायबीच तनाव बढेपछि जिल्ला प्रशासन कार्यालय धनुषाले रुपैठाको चारैतर्फ निषेधाज्ञा जारी गरेको छ।

धनुषाका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यका अनुसार शुक्रबार साँझ हिन्दु र मुस्लिम समुदायबीच झडप भएपछि शान्ति सुरक्षा कायम गर्न निषेधाज्ञा लगाइएको हो। शुक्रबार साँझ ६:३० बजेदेखि लागू हुनेगरी प्रशासनले जारी गरेको विज्ञप्तिमा रुपैठाको चारैतर्फ कुनै पनि सभा, जुलुस, नाराबाजी, बैठक वा सामूहिक कार्यक्रम गर्न नपाउने व्यवस्था गरिएको छ।

यो विवाद दुर्गा मूर्ति विसर्जनको क्रममा उत्पन्न भएको हो, जसले गर्दा सो क्षेत्र तनावग्रस्त बनेको छ। जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार गत महिना गणेश पूजापछि मूर्ति विसर्जनमा पनि त्यहाँ दुई समुदायबीच झडप भएको थियो भने अहिले पुनः दुर्गाको मूर्ति विसर्जनमा अवरोध भएपछि झडप भएको हो।

आदेशअनुसार रुपैठाको पूर्व लोहना जाने बाटो, पश्चिममा बसहिया जाने बाटो, उत्तरमा बाबा पेट्रोल पम्प सिक्सलेन र दक्षिणमा गँगुली पूलसम्म प्रदर्शन, भेला, नारा जुलुस गर्न पूर्ण रूपमा प्रतिबन्ध लगाइएको छ। स्थानीय प्रशासनले थप अप्रिय घटना हुन नदिनका लागि यो कदम चालेको हो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्