नेभिगेशन
ट्राफिक प्रहरी

ट्राफिक सप्ताह अभियान तीव्र, पाँचौँ दिन हजारौँ यात्रु र चालक लाभान्वित

काठमाडौँ । “सवारी दुर्घटना न्यूनीकरण विशेष अभियान तथा ट्राफिक सप्ताह २०८२” अन्तर्गत पाँचौँ दिन काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले व्यापक सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ।

आजको कार्यक्रमअन्तर्गत ९ हजार ३ सय ७६ जना यात्रु तथा पैदलयात्रीलाई जेब्राक्रसिङबाट सुरक्षित रूपमा बाटो काट्ने तरिका सिकाइनुका साथै २ सय ८५ जना चालकको एकदिने आँखा स्वास्थ्य परीक्षण गरिएको छ भने ७ सय ६७ जना विद्यालय तथा कलेजका विद्यार्थीलाई सडक सुरक्षा सम्बन्धी सचेतना दिइएको उपत्यका ट्राफिक प्रहरी कार्यालय काठमाडौंले जानकारी दिएको छ।

ट्राफिक प्रहरीका अनुसार  ८६ जना ट्राफिक स्वयंसेवक परिचालन गरिएको छ। २ हजार ८२ जनालाई रात्रीकालीन विशेष सचेतना, ५ हजार २ सय १५ जना चालक तथा परिचालकसँग ‘२ मिनेट कार्यक्रम’, ५ हजार ८ सय ८३ जना दुई पाङ्ग्रे तथा चार पाङ्ग्रे सवारी चालकलाई सचेतनामूलक कार्यक्रम गरिएको हो।

लेन नियम उल्लङ्घन, मादक पदार्थ सेवन गरी सवारी चलाउने, ट्राफिक लाइट उल्लङ्घन र तीव्र गतिमा सवारी चलाउने १ सय ९४ जनालाई सचेतनामूलक कक्षामा सहभागी गराइएको छ। २ सय २० जनासँग नागरिक सुनुवाइ, १ हजार ४ सय २८ जनाको सहभागितामा प्रभातफेरी, १ हजार २ सय ७० जना चालक तथा यात्रुलाई सुरक्षित यात्राको कामना गरिएको छ।

यस्तै ३ हजार ५ सय जनालाई सांस्कृतिक कार्यक्रम, २ हजार ६ सय ३३ जनासँग यात्रुसँग सचेतनामूलक कार्यक्रम, ५ सय ७७ जनासँग अन्तरक्रिया, ८० वटा ट्राफिक कोण सरसफाइ, २ सय ७ जनालाई मस्कटसहित सडक नाटक प्रदर्शन तथा २ सय ४ जनालाई स्वास्थ्य शिविर सेवा प्रदान गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार अभियानबाट कुल ३३ हजार ८ सय ७७ जना सडक प्रयोगकर्ता लाभान्वित भएका छन्। साथै १६ हजार ७ सय ४१ जनालाई पर्चा–पम्प्लेट वितरण गरिएको छ भने नो हर्न ,नो ड्रिंस एण्ड ड्राइभ, लागुपदार्थ सेवन हानिकारक तथा लेन, तिब्र गति र रेड लाइट सम्बन्धि ६ हजार १ सय ४४ वटा स्टिकर टाँस गरिएको हो।

“सभ्य नागरिकको चिनारी, सडक दुर्घटना न्यूनीकरण हामी सबैको जिम्मेवारी” भन्ने नाराका साथ माघ २६ गतेदेखि सुरु भएको ट्राफिक सप्ताह माघ ३ गतेसम्म सञ्चालन हुने छ।

सडकमा हुने सानो लापरबाहीले ठूलो दुर्घटनाको रूप लिन सक्ने यथार्थलाई आत्मसात गर्दै सुरक्षित सडक संस्कारको विकास र सडक दुर्घटनाबाट हुने जनधनको क्षति न्यूनीकरण गर्ने उद्देश्यले ट्राफिक सप्ताह आयोजना गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेश राज सुवेदीले बताएका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्