काठमाडौं। दाङबाट काठमाडौं आउँदै गरेको यात्रुवाहक नाइट बस चितवनको मुग्लिन–नारायणगढ सडकखण्डमा दुर्घटना हुँदा ३८ जना यात्रु घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार लुम्बिनी प्रदेश ०२–००१ ख ०४६० नम्बरको बस आज बिहान करिब ३ बजेर १० मिनेटमा ‘घुमाउने’ भन्ने स्थानमा आफैं अनियन्त्रित भई पल्टिएको हो।
दुर्घटनामा परेर घाइते भएका ३८ जनामध्ये १० जनाको अवस्था मध्यम र २८ जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। घाइतेहरूको चितवनका चारवटा अस्पतालमा उपचार भइरहेको छ। प्रहरीका अनुसार मौलाकालिका अस्पताल भरतपुरमा १५ जना, पुरानो मेडिकल कलेज भरतपुरमा १३ जना, नयाँ मेडिकल कलेज भरतपुरमा ४ जना र जनता केयर अस्पताल मुग्लिनमा ६ जनाको उपचार भइरहेको चितवन प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार नयाँ मेडिकल कलेज भरतपुरमा उपचाररत घाइतेहरूमा दाङको लमही नगरपालिका–१ बस्ने ३३ वर्षीय गणेश चौधरी, लमही नगरपालिका–३ बस्ने २१ वर्षीया रुपा चौधरी, राप्ती गाउँपालिका–५ बस्ने २४ वर्षीया माधुरी चौधरी र सहचालक राप्ती गाउँपालिका मसुरिया बस्ने २१ वर्षीय दिनेश चौधरी रहेका छन्। गणेश चौधरीको हातखुट्टामा चोट लागेको छ भने रुपा चौधरीको निधारमा चोट छ। माधुरी चौधरीको हातखुट्टा र ढाडमा चोट लागेको छ भने सहचालक दिनेश चौधरीको बाँया कानमा भित्री चोट लागेको छ। यी सबैको अवस्था मध्यम रहेको जनाइएको छ।
पुरानो मेडिकल कलेज भरतपुरमा उपचाररत घाइतेहरूमा दाङको गढवा गाउँपालिका–३ बस्ने ३१ वर्षीया सिमा चौधरी, गढवा गाउँपालिका–५ बस्ने १८ वर्षीय अभिषेक चौधरी, सोही स्थानका २१ वर्षीय सम्राट चौधरी, घोराही–१८ बस्ने ३६ वर्षीय शालिग्राम खत्री क्षेत्री, दाङ शान्तिनगर गाउँपालिका–२ बस्ने ६९ वर्षीय शालिग्राम शर्मा, ३७ वर्षीया माया चौधरी, लमही नगरपालिका–२ बस्ने ३२ वर्षीय निर्मल चौधरी, ३१ वर्षीया गीता चौधरी, १९ वर्षीय आवास चौधरी, ३२ वर्षीय राजु चौधरी, गढवा गाउँपालिका–२ बस्ने ३२ वर्षीय लिखुराम चौधरी, घोराही–१८ बस्ने ३१ वर्षीय बाबुराम थापा तथा घोराही–४ बस्ने ४० वर्षीय शुभराम वाग्ले रहेका छन्। उनीहरू सबैको अवस्था सामान्य रहेको प्रहरीले जानकारी दिएको छ।
त्यसैगरी मौलाकालिका अस्पताल भरतपुरमा उपचाररत घाइतेहरूमा सल्यानको छत्रेश्वरी–५ बस्ने १८ वर्षीया लिला कवर मगर, २१ वर्षीय रमेश कवर मगर, दाङ गढवा–२ बस्ने २७ वर्षीया मिना चौधरी, ३० वर्षीय विष्णु चौधरी, २२ वर्षीया सन्ध्या बफ्रेल, लमही नगरपालिका–२ बस्ने २१ वर्षीय प्रकाश चौधरी, दाङ घोराही–१६ बस्ने ६० वर्षीय फणेन्द्र पछाई, दाङ नारायणपुर बस्ने ६० वर्षीया उमा गौतम, घोराही बस्ने ४१ वर्षीया शान्ती हमाल र उनकी १० वर्षीया छोरी प्रमिसा हमाल, रोल्पाको होलेरी बस्ने ५० वर्षीय विष्णु बस्नेत, नुवाकोटको पञ्चकन्या–६ बस्ने ४० वर्षीया सुनिता तामाङ, ४२ वर्षीय सुकमान तामाङ, ४५ वर्षीय बुद्धि बहादुर तामाङ र २० वर्षीय सन्देश तामाङ रहेका छन्। मिना चौधरीको बाँया खुट्टा भाँचिएको छ भने रमेश कवर मगर, विष्णु चौधरी, उमा गौतम, विष्णु बस्नेत, सुकमान तामाङ, बुद्धि बहादुर तामाङ र सन्देश तामाङको अवस्था मध्यम रहेको छ, बाँकीको अवस्था सामान्य रहेको जनाइएको छ।
प्रहरीका अनुसार जनता केयर अस्पताल मुग्लिनमा उपचाररत घाइतेहरूमा रोल्पा रुन्टीगढी गाउँपालिका–९ का वडाध्यक्ष ३५ वर्षीय चेतलाल खत्री, दाङ घोराही–१७ बस्ने २४ वर्षीय दिनेश चौधरी, घोराही–१० बस्ने २९ वर्षीय चक्र सिंह, दाङ गढवा–२ बस्ने २६ वर्षीय श्रीराम चौधरी, ३४ वर्षीय बस चालक सुभाष ओली तथा दुर्घटनाका समयमा बस चलाइरहेका दाङ लमही नगरपालिका–२ बस्ने २६ वर्षीय विपिन चौधरी रहेका छन्।