नेभिगेशन
सुरक्षा अपडेट

बर्दिया राष्ट्रिय निकुञ्ज पुगेका ६ जना ९ दिनदेखि सम्पर्कविहीन

बर्दिया ।  बर्दिया राष्ट्रिय निकुञ्जतर्फ सिकार खेल्न गएका ६ जना व्यक्तिसँग करिब नौ दिनदेखि सम्पर्क हुन सकेको छैन। उनीहरू फागुन २३ गतेदेखि बेपत्ता रहेको प्रहरीले जनाएको छ।

सम्पर्कविहीन हुनेहरूमा बराहताल गाउँपालिका–१ ज्यामिरेका २५ वर्षीय रेशम समसेली, ४१ वर्षीय रविलाल दमाई, ३४ वर्षीय रामबहादुर घर्ती, ३० वर्षीय सुनिल समसेली र ३३ वर्षीय टोपबहादुर खत्री रहेका छन्। साथै सुर्खेतको लेकवेशी नगरपालिका–८ गंगटे घर भई हाल बर्दियामा बस्दै आएका ४५ वर्षीय दुर्गाबहादुर सिजाली पनि उनीहरूसँगै हराइरहेका छन्।

प्रहरीका अनुसार ती व्यक्तिहरू घरबाट करिब १७ किलोमिटर दक्षिणतर्फ पर्ने बर्दिया राष्ट्रिय निकुञ्जतर्फ गएको बताइए पनि त्यसयता उनीहरू फर्किएका छैनन्। लामो समयसम्म सम्पर्क हुन नसकेपछि बराहताल गाउँपालिका–२ का आसे महतराले सोमबार प्रहरीलाई जानकारी गराएका थिए।

प्रहरीका अनुसार जानकारी गराउने महतरा बेपत्ता भएका टोपबहादुर खत्रीका भेनाजु हुन्। घटनाबारे सूचना पाएपछि प्रहरी टोलीले उनीहरूको खोजीकार्य सुरु गरेको जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्