नेभिगेशन
सुरक्षा विशेष

रुबी खानको वेतुके मागसहितको आन्दोलनले उठायो प्रश्न

नेपालगन्ज । बाँकेमा एक समय निर्मला कुर्मी मृत्यु प्रकरणलाई लिएर आन्दोलन चर्काएकी रुबी खान यतिबेला फेरि आन्दोलनमा सक्रिय देखिएकी छन्। तर यसपटक उनको आन्दोलनको केन्द्र निर्मला कुर्मीको मुद्दाभन्दा बढी बाँकेका प्रहरी प्रमुख एसपी अंगुर जिसीसँगलाई कारबाहीको बेतुके मागले उनीमाथि नै प्रश्न उठाएको छ।

नेपालगन्जस्थित जिल्ला प्रशासन कार्यालय अगाडि केही महिलासहित दैनिक धर्ना बस्दै आएको रुबी समूहले एसपी जिसीमाथि कारबाही, सरुवा तथा जिम्मेवारी परिवर्तन गरिएका प्रहरी कर्मचारीलाई पुनः पूर्ववत् जिम्मेवारीमा फर्काउन माग गरिरहेको छ। तर प्रहरी स्रोतका अनुसार यी मागहरू कानुनी आधारभन्दा बढी दबाब सिर्जना गर्ने उद्देश्यले अघि सारिएको दाबी गरिएको छ।

प्रहरीका अनुसार रुबी खानले पछिल्लो समय विभिन्न घटनामा प्रहरीलाई दबाब दिने, मिलापत्र गराउन खोज्ने तथा मुद्दा आफूअनुकूल अघि बढाउन प्रयास गर्दै आएकी थिइन्। तर एसपी जिसीले त्यस्तो दबाब अस्वीकार गरेपछि दुवै पक्षबीच सम्बन्ध चिसिएको बताइन्छ। विशेषगरी निर्मला कुर्मी प्रकरणमा संलग्न केही प्रहरी कर्मचारीको जिम्मेवारी परिवर्तन भएपछि रुबी खान आक्रोशित बनेको प्रहरीको दाबी छ।

रुबी खानले सुरुमा निर्मला कुर्मीको कथित हत्या वा बेपत्ता प्रकरणमा न्याय माग्दै नेपालगन्जबाट काठमाडौंसम्म पैदल यात्रा गरी आन्दोलन गरेकी थिइन्। माइतीघरमा अनसनपछि सरकारसँग सहमति भएको थियो। तर प्रहरी स्रोतका अनुसार उक्त प्रकरणमा कर्तव्य ज्यान मुद्दा चलाउन पर्याप्त आधार नभएको दाबी गरिएको छ। नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को प्रतिवेदनले पनि हत्या पुष्टि हुने ठोस प्रमाण नदेखिएको उल्लेख गरेको छ। यद्यपि ठगी, आपराधिक लाभ, विश्वासघात, किर्ते तथा सम्पत्ति शुद्धीकरणतर्फ थप अनुसन्धान आवश्यक देखिएको भन्दै भारतबाट आवश्यक कागजात मगाउने तथा सम्बन्धित निकायमा पत्राचार गर्ने कार्य भइरहेको प्रहरीले जनाएको छ।

यसैबीच, सामाजिक सञ्जाल र समाचारमा आएका प्रतिक्रियाहरूले पनि रुबी खानको आन्दोलनप्रति जनसमर्थन कमजोर देखिएको संकेत गरेका छन्। अधिकांश टिप्पणीहरूमा उनको आलोचना गरिएको पाइन्छ भने नेपालगन्जमा उनको पक्षमा खुलेर आवाज उठाउनेहरू न्यून देखिएका छन्। जिल्ला प्रशासन कार्यालय अगाडि सीमित संख्यामा महिलाहरूलाई राखेर धर्ना सञ्चालन गरिएको बाहेक व्यापक जनसहभागिता नदेखिएको स्थानीयहरूको भनाइ छ, जसले उनको प्रभाव सीमित रहेको आकलन गरिएको छ।

प्रहरीका अनुसार वैशाख १५ गते रुबी खानलाई नियन्त्रणमा लिइएको थियो। हिरासतमा रहँदा उनले पानीसमेत नखाई अनसन बसेकी थिइन्। करिब ४८ घण्टा हिरासतमा राखेर अनुसन्धान गरिएपछि उनलाई आफन्तको जिम्मामा हाजिरी जमानीमा रिहा गरिएको थियो।

रुबी खानको पछिल्लो आन्दोलनलाई थप विवादित बनाएको छ नेपालगन्ज–१० स्थित शिक्षक नारायणप्रसाद शर्मामाथि भएको कुटपिट घटनाले। गत वैशाख ३ गते आफ्नै घरमा रहेका शर्मामाथि करिब २०–२५ जनाको समूहले आक्रमण गरेको थियो, जसमा उनको हातको नाडी र औंला भाँचिएको थियो। घटनामा संलग्न दुई जनालाई प्रहरीले तत्काल पक्राउ गरी अभद्र व्यवहार शीर्षकमा मुद्दा दर्ता गरेर अनुसन्धान अघि बढाएको छ। प्रहरीका अनुसार यस घटनामा पक्राउ परेकाहरूलाई छुटाउन तथा मिलापत्र गराउन रुबी खानले दबाब दिएको आरोप छ। उल्टै शिक्षक शर्मामाथि बालिका र उनकी आमालाई कुटपिट गरेको भन्ने काउन्टर जाहेरी दर्ता गराउने प्रयास गरिएको भए पनि आरोप पुष्टि नभएपछि जाहेरी दर्ता नभएको जनाइएको छ। यसै घटनामा आफू असफल भएपछि रुबी खानले बेतुके तरिकाले आन्दोलन थालेको बताइएको छ।

यसैक्रममा बाँकेमा भएका अन्य विभिन्न घटनाहरूमा रुबी खानले अनावश्यक दवाव दिएपनि प्रहरीले अनुसन्धान अघि बढाइरहेको जनाएको छ। नेपालगन्ज–१६ की गुडिया कहारको मृत्यु प्रकरणमा सुरुमा आत्महत्या शीर्षकमा जाहेरी दर्ता भए पनि पछि आत्महत्या दुरुत्साहनको मुद्दामा रूपान्तरण भई श्रीमान्, सासु, ससुरा र अमाजुसहित चार जनाविरुद्ध मुद्दा अघि बढाइएको छ। 

डुडुवा गाउँपालिका–६ का ६ वर्षीय दिपेश चमारको मृत्यु घटनामा चार जनालाई पक्राउ गरी अनुसन्धान गर्दा बुग्गी चालकलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ। 

बुकीको ठक्करबाट भएको बालक मृत्यु प्रकरणमा बुकी चालकलाई मात्रै मुख्य प्रतिवादी बनाएर मुद्दा चलाइएको प्रहरीले जनाएको छ।

अन्य व्यक्तिहरूलाई समेत किटानी जाहेरीमा समेटिएको भए पनि प्रहरीले अनुसन्धानका आधारमा चालकको मात्र संलग्नता देखिएपछि मुद्दा अघि बढाएको जनाएको छ।

यसबीच अभियन्ता रुबी खानले स्कुल व्यवस्थापन समितिका अध्यक्ष, प्रिन्सिपल लगायतलाई समेत प्रतिवादी बनाउन अनावश्यक दबाब दिएको आरोप लागेको छ। यसमा रुबीको व्यक्तिगत स्वार्थ र अरुलाई दुःख दिने नियतले प्रतिवादी बनाइएको देखिन्छ भन्ने प्रहरीको दाबी छ। प्रहरीले आफ्नो अनुसन्धानबाट जे देखियो सोही बमोजिम मुद्दा दायर भएको स्पष्ट पारेको छ।

त्यसैगरी सृजना बुढा मगरको मृत्यु प्रकरणमा पाँच जना प्रतिवादीलाई अदालतमार्फत पुर्पक्षका लागि कारागार चलान गरिएको छ। कुवारी कोरीले दिएको व्यक्ति बेपत्ता सम्बन्धी जाहेरी दर्ता गरी त्यसमा पनि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। यी घटनामा पनि रुबी खानले अनावश्यक दवाव सृजन गरेको देखिएको छ।

प्रहरी पक्षले स्पष्ट रूपमा कानुनी प्रक्रिया बाहिरका कुनै पनि दबाब स्वीकार नगर्ने अडान लिएको छ। यता रुबी खान पक्षले भने आफूहरू पीडितको न्यायका लागि लडिरहेको र प्रहरी प्रशासनले उल्टै दमन गर्न खोजेको दाबी गर्दै आएको छ।

निर्मला कुर्मी प्रकरणबाट सुरु भएको आन्दोलन अहिले व्यक्तिगत विवाद, विभिन्न आपराधिक घटनासँगको सम्बन्ध, कानुनी प्रक्रियामाथि दबाब र संस्थागत टकरावसँग जोडिँदै जाँदा यसको स्वरूप नै परिवर्तन भएको देखिन्छ। कमजोर जनसमर्थन, निरन्तर विवाद र प्रहरीसँगको प्रत्यक्ष टकरावले आन्दोलनको विश्वसनीयतामाथि प्रश्न उठाइरहेको छ भने नेपालगन्जमा विकसित भइरहेको अवस्था अहिले नागरिक आन्दोलन र कानुनी राज्यबीचको सन्तुलनको संवेदनशील उदाहरणका रूपमा हेरिन थालेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्