नेभिगेशन
सुरक्षा विशेष

⁠बाँके सीमामा सुरक्षाकर्मीको काम नदेख्नेहरूले किन फैलाउँछन् गलत अफवाह!

'सुरक्षाकर्मी पनि हामी जस्तै मानिस हुन्,नबिर्सौ'

बाँके । बाँके जिल्लास्थित नेपाल–भारत खुला सीमामा यतिखेर देखिएको कडाइ र सक्रियता सायद विगतका वर्षहरूभन्दा फरक र प्रभावकारी देखिएको छ। अवैध ओसारपसार तथा तस्करी नियन्त्रणका लागि जिल्लाका सुरक्षा निकायहरू जुन ढंगले परिचालित छन्, त्यसले एउटा स्पष्ट सन्देश दिन्छ—राज्य संयन्त्र सचेत छ र चुनौती सामना गर्न तयार छ।

प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङ, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी अंगुर जिसी तथा सशस्त्र प्रहरी बल नेपाल नं. ३० गण बाँकेका प्रमुख एसपी भिम बहादुर चन्द, नेपालगन्ज भन्सार कार्यालयको नेतृत्वमा सुरक्षा संयन्त्र दिनरात खटिएको अवस्था छ। सीमित स्रोत–साधन र जनशक्तिका बावजुद, दिनहुँ अवैध सामान बरामद हुनु आफैंमा सक्रियता र प्रतिबद्धताको प्रमाण हो।

खुला सीमाको आफ्नै चुनौती छ। यस्तो अवस्थामा प्रत्येक अवैध गतिविधि नियन्त्रणमा आउँछ भन्ने अपेक्षा यथार्थपरक नहुन सक्छ। तर, कुनै घटनाको पुष्टि नगरी सामाजिक सञ्जालमा “मिलेमतोमा तस्करी भइरहेको” भन्ने आरोप लगाउनु समाधानभन्दा समस्या बढाउने कार्य हो। यदि कतै अवैध गतिविधि भइरहेको देखिन्छ भने सम्बन्धित निकायलाई प्रत्यक्ष सूचना दिनु नै जिम्मेवार नागरिकको परिचयक हो।

वास्तविकता के हो भने, बाँके जिल्लाको इतिहासमा तस्करी नियन्त्रणका लागि यति व्यापक र निरन्तर प्रयास विरलै देखिएको छ। यसअघिका तत्कालीन सशस्त्र प्रहरी बाँके प्रमुख  दिपक अधिकारी (हाल डीआईजी) को कार्यकालमा देखिएको कडाइपछि अहिलेको अवस्था पुनः त्यस्तै सशक्त रूपमा अघि बढेको देखिन्छ। यसले सुरक्षा निकायको निरन्तरता र प्रतिबद्धता दुवैलाई पुष्टि गर्छ।

तर, दुःखद पक्ष के छ भने कतिपयले पुराना तस्वीर वा भ्रामक सामग्री प्रयोग गरेर गलत सूचना फैलाउने प्रयास गरिरहेका छन्। यस्ता गतिविधिले सुरक्षाकर्मीहरूको मनोबल घटाउनुका साथै आमजनमानसमा अनावश्यक भ्रम सिर्जना गर्छ। सीमामा खटिएका सुरक्षाकर्मीहरू चर्को घाम, अभाव र कठिन परिस्थितिमा आफ्नो जिम्मेवारी पूरा गरिरहेका छन्—उनीहरू पनि हामीजस्तै संवेदनशील मानिस हुन् भन्ने तथ्य बिर्सनु हुँदैन।

त्यसैले, आवश्यक छ—आलोचना भन्दा अघि सत्यता जाँच्ने, अफवाह भन्दा अघि जिम्मेवारी बोध गर्ने, र गलत प्रचारभन्दा अघि वास्तविक योगदानको मूल्यांकन गर्ने। केही समूहले फैलाएको भ्रामक प्रचारका कारण सुरक्षा निकायले गरेको सराहनीय कार्य ओझेलमा पर्नु हुँदैन।

अन्ततः, सीमा सुरक्षा केवल सुरक्षाकर्मीको मात्र जिम्मेवारी होइन, यो समग्र समाजको साझा दायित्व हो। सहकार्य, विश्वास र तथ्यमा आधारित दृष्टिकोणले मात्र तस्करी नियन्त्रणको अभियान सफल बन्न सक्छ। माथि उल्लेखित प्रयासहरूका अतिरिक्त जिल्लामा अवैध तस्करी नियन्त्रणमा बाँकेस्थित राष्ट्रिय अनुसन्धान कार्यालयको भूमिका पनि उत्तिकै महत्त्वपूर्ण रहेको देखिन्छ। सुरक्षा निकायबीचको समन्वय र सूचना आदान–प्रदान गर्ने यस कार्यालयको कार्यलाई पनि आत्मसाथ गर्न जरुरी छ। 

बिडम्बना के छ भने, तस्करी नियन्त्रणका क्रममा सुरक्षाकर्मीहरूले दिनहुँ अवैध रूपमा भित्रिएका सामान मात्र होइन, ती ओसारपसारमा प्रयोग भएका सवारीसाधनसमेत बरामद गरिरहेका तथ्यहरू भने धेरैको नजरबाट ओझेलमा परेको देखिन्छ।

बरामद भएका सामान, नियन्त्रणमा लिइएका सवारीसाधन र कारबाहीका विवरणहरू सार्वजनिक भइरहँदा पनि त्यसलाई बेवास्ता गर्दै केवल आरोप र आशंकालाई मात्र प्राथमिकता दिनु न्यायोचित देखिँदैन। वास्तविकता हेर्ने हो भने, सुरक्षा निकायको सक्रियता र परिणाम दुवै स्पष्ट रूपमा देख्न सकिन्छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्