नेभिगेशन
सुरक्षा अपडेट

जलबीरेमा दाङ र सर्लाहीका बस ट्रकसँग ठोक्किए, २५ बढी घाइते

काठमाडौं । चितवन– मुग्लिन–नारायणगढ सडकखण्डको जलबीरे नजिक आइतबार बिहान भएको सवारी दुर्घटनामा २५ भन्दा बढी यात्रु घाइते भएका छन्। दुईवटा बस र ट्रक ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार सर्लाहीबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र. ०३–००१ ख १६७१ नम्बरको बस र काठमाडौंबाट दाङका लागि छुटेको अर्को बस दुर्घटनामा परेका हुन्। दाङतर्फ गइरहेको बसको नम्बर भने खुल्न बाँकी छ। दुर्घटनामा सोही बसका चालक गम्भीर घाइते भएको प्रहरीले जनाएको छ।

घटनालगत्तै नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट खटिएको संयुक्त टोलीले उद्धार कार्य सुरु गरेको थियो। घाइते सबैलाई उपचारका लागि भरतपुर पठाइएको छ। घाइतेको यकिन संख्या भने अझै संकलन भइरहेको प्रहरीले जनाएको छ।

दुर्घटनापछि केही समय अवरुद्ध बनेको मुग्लिन–नारायणगढ सडकखण्ड अहिले सञ्चालनमा आइसकेको छ।

लगातारको वर्षा र पहिरोको जोखिमलाई ध्यानमा राख्दै जिल्ला प्रशासन कार्यालय चितवनले शनिबार राति १० बजेदेखि सडक बन्द गरेको थियो। आइतबार बिहान ६ बजे सडक खुलाइएपछि सवारी आवागमन पुनः सुरु भएको थियो।

सडक खुलेसँगै लेन अनुशासन पालना नगरी सवारी सञ्चालन गर्दा दुर्घटना र लामो जामको समस्या देखिएको छ। सडक डिभिजन कार्यालयले चालकलाई निर्धारित लेन प्रयोग गर्न र सीमित गतिमा सवारी चलाउन आग्रह गरेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्