नेभिगेशन
नेपाल प्रहरी

एउटा मुद्दामा पक्राउ परेका गाउँपालिका अध्यक्ष रहेछन्  १० मुद्दाका फरार प्रतिवादी 

 

काठमाडौं । नुवाकोटको किस्पाङ गाउँपालिकाका अध्यक्ष वीरबल तामाङविरुद्ध बैंकिङ कसुर र ठगीका १० वटा मुद्दा रहेको खुलेको छ। प्रहरीको अभिलेखअनुसार उनी ती मुद्दामा फरार प्रतिवादीका रूपमा छन्।
तामाङविरुद्ध ९ वटा बैंकिङ कसुर र एउटा ठगीको जाहेरी परेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ। विभिन्न प्रहरी कार्यालयमा दर्ता भएका ती मुद्दामा लाखौँदेखि करोडौँ रुपैयाँसम्म बिगो दाबी गरिएको छ।

प्रहरीका अनुसार सुनमाया घर्तीले ३ करोड ४ लाख रुपैयाँ बिगो कायम गरी तामाङविरुद्ध जाहेरी दिएकी छन्। उक्त मुद्दाको अनुसन्धान पूरा गरेर २०८२ फागुन ५ गते जिल्ला सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाइएको थियो।

त्यस्तै, हेराकाजी बाडेको जाहेरीमा १ करोड ३ लाख ३० हजार रुपैयाँ बिगो कायम गरिएको छ। सो मुद्दाको अनुसन्धान मिसिल प्रहरीले २०८२ मंसिर १७ गते सरकारी वकिलको कार्यालयमा पेस गरेको थियो।

एकबहादुर बगालेले ४८ लाख रुपैयाँ र विजयसिंह लामाले ९५ लाख रुपैयाँ बिगो दाबी गर्दै दिएको जाहेरी पनि तामाङविरुद्धका मुद्दामध्ये छन्। यी मुद्दाको अनुसन्धान प्रतिवेदन क्रमशः २०८० पुस ८ र मंसिर ९ गते सरकारी वकिलको कार्यालयमा बुझाइएको प्रहरी रेकर्डमा उल्लेख छ।

तामाङविरुद्ध ५६ लाख रुपैयाँ बिगोको ठगीसम्बन्धी मुद्दासमेत रहेको छ। उक्त मुद्दामा अनुसन्धान पूरा गरी २०८१ भदौ ११ गते प्रतिवेदन पेस गरिएको थियो।

यसैगरी, भक्तपुरमा २ लाख, प्रहरी वृत्त जनसेवामा ७५ लाख, दरबारमार्गमा ५ लाख २५ हजार र लैनचौरमा १९ लाख ८० हजार रुपैयाँ बिगो कायम भएका मुद्दामा पनि उनी फरार रहेको प्रहरीले जनाएको छ। महाराजगन्जमा समेत मुद्दा रहेको भए पनि जेनजी आन्दोलनका क्रममा मिसिल जलेका कारण त्यसको विस्तृत विवरण फेला पर्न सकेको छैन।

यिनै मुद्दाका कारण फरार रहेका तामाङ सोमबार भने प्रधानमन्त्रीसँगको छलफलमा सहभागी भएका थिए। बाढी प्रभावित क्षेत्रका स्थानीय जनप्रतिनिधिसँग प्रधानमन्त्री बालेन्द्र शाहले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा गरेको छलफलमा उनी पनि उपस्थित थिए।

छलफल सकिएपछि सिंहदरबारबाट बाहिरिने क्रममा पक्राउ पुर्जी रहेको खुलेपछि प्रहरी वृत्त दरबारमार्गको टोलीले तामाङलाई नियन्त्रणमा लिएको हो।

उनको विवरण जाँच गर्दा १० वटा मुद्दामा फरार रहेको खुलेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दिलिप घिमिरेले जानकारी दिए। पक्राउ परेका तामाङमाथि सम्बन्धित मुद्दाको प्रक्रियाअनुसार कारबाही अघि बढाइने प्रहरीले जनाएको छ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्