नेभिगेशन
नेपाल प्रहरी

लागूऔषधविरुद्ध प्रहरी कारबाहीमा १७ जना कारोबारी पक्राउ

काठमाडौं । नेपाल प्रहरीले गरेको लागूऔषधविरुद्धको कारबाहीमा विभिन्न स्थानबाट १७ जना पक्राउ परेका छन्। प्रहरीको कारबाहीअन्तर्गत काठमाडौं, कञ्चनपुर, बारा, पर्सा, कास्की, सुर्खेत, चितवन र झापाबाट उनीहरू पक्राउ परेका हुन्।

प्रहरी प्रधान कार्यालयका अनुसार काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–९ स्थित एक फार्मेसीबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ६ हजार १ सय १५ ट्याब्लेट र नाइट्राजेपाम ५ हजार ७ सय ३० ट्याब्लेटसहित ३ जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा फार्मेसी सञ्चालक कालिकोट पचालझरना गाउँपालिका–८ का २३ वर्षीय हिमाल शाही, सोही गाउँपालिका–९ का २१ वर्षीय हिरो विक र शुभ कालीका गाउँपालिका–८ का २६ वर्षीय उमेशबहादुर शाही रहेका छन्।

यस्तै, काठमाडौंको चन्द्रागिरी नगरपालिका–२ नागढुंगाबाट ट्रामाडोल १ सय २० ट्याब्लेटसहित २ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा धादिङ थाक्रे गाउँपालिका–४ का २२ वर्षीय रूबिन सुनार र धुनिवेशी नगरपालिका–५ का २१ वर्षीय सन्तोष तामाङ रहेका छन्।

कञ्चनपुरको बेदकोट नगरपालिका–१० सिसैयाबाट २ सय ८० मिलिग्राम लागूऔषधसहित २६ वर्षीय निराजन ठकुराठी पक्राउ परेका छन्।

बाराको जीतपुरसिमरा उपमहानगरपालिका–८ गोवरगावाबाट करिब १ किलो ७ सय ३० ग्राम गाँजासहित ३६ वर्षीय जयनारायण चौधरी पक्राउ परेका छन्।

पर्साको पटेर्वा सुगौली गाउँपालिका–५ देउरियाबाट ४ सय ८० मिलिग्राम ब्राउन सुगर र ३ ग्राम १ सय ७० मिलिग्राम अफिमसहित ५५ वर्षीय रामनारायण राउत थारू पक्राउ परेका छन्।

कास्कीको पोखरा महानगरपालिका–८ न्यूरोडबाट ९ ग्राम ३ सय २० मिलिग्राम लागूऔषधसहित २ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा तनहुँ व्यास नगरपालिका–५ का २६ वर्षीय राजु न्यौपानेसमेत रहेका छन्।

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–२ कोलडाँडाबाट ४ ग्राम ३ सय ८० मिलिग्राम ब्राउन सुगरसहित २ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा २५ वर्षीय मानबहादुर बुढा र १९ वर्षीय दिपेन्द्र जैसी रहेका छन्।

चितवनको खैरहनी नगरपालिका–१ गणेशचोकबाट ३ ग्राम १ सय मिलिग्राम ब्राउन सुगरसहित ४ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा २६ वर्षीय अजय गान्धरीसमेत रहेका छन्।

यस्तै, झापाको मेचीनगर नगरपालिका–६ बाट ६ ग्राम २ सय ८० मिलिग्राम लागूऔषधसहित २६ वर्षीय सरोज थापा मगर पक्राउ परेका छन्।

पक्राउ परेकाहरूमाथि प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्