नेभिगेशन
अदालत

आईजीपी नियुक्तिविरुद्ध दानबहादुर कार्कीको रिटमा अन्तरिम आदेश दिन सर्वोच्चको अस्वीकार

काठमाडौँ । प्रहरी महानिरीक्षक (आईजीपी) डा. मनोजकुमार केसीको बढुवा तथा नियुक्तिविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ।

तर, मुद्दाको संवेदनशीलता र सार्वजनिक महत्त्वलाई ध्यानमा राख्दै अदालतले यसको सुनुवाइलाई प्राथमिकतामा राख्ने निर्णय गरेको छ।

बुधबार न्यायाधीशद्वय नृपध्वज निरौला र श्रीकान्त पौडेलको संयुक्त इजलासले रिट निवेदक दानबहादुर कार्कीले माग गरेअनुसार तत्कालका लागि अन्तरिम आदेश दिनुपर्ने अवस्था नरहेको ठहर गरेको हो।

अदालतका अनुसार नेपाल सरकारको गत कात्तिक १८ गतेको निर्णयबाट डा। केसी प्रहरी महानिरीक्षकमा बढुवा भएका थिए। सोही दिन नियुक्ति बुझेर उनले पदभारसमेत ग्रहण गरिसकेको देखिएकाले तत्काल अन्तरिम आदेश जारी गर्नुपर्ने आधार नपुगेको इजलासको निष्कर्ष छ।

साथै, प्रहरी सङ्गठनको नेतृत्व र देशको शान्ति सुरक्षासँग जोडिएको विषय भएकाले यसलाई गम्भीरतापूर्वक लिनुपर्ने अदालतले जनाएको छ। रिटमा उठाइएका कानुनी प्रश्न र निवेदकले माग गरेको न्यायिक उपचारबारे अन्तिम सुनुवाइका क्रममा निर्णय गर्न सकिने भन्दै हाललाई अन्तरिम आदेश आवश्यक नरहेको आदेशमा उल्लेख छ।

यद्यपि, मुद्दालाई लामो समयसम्म थाती नराख्ने संकेत गर्दै सर्वोच्चले छिटो सुनुवाइको व्यवस्था गरेको छ। प्रत्यर्थीहरूबाट लिखित जवाफ प्राप्त भएपछि वा जवाफ पेस गर्ने समयसीमा सकिएको सात दिनभित्र मुद्दा पेसीमा चढाउन आदेश दिइएको छ। साथै, पेसी स्थगित नहुने गरी दुवै पक्षलाई पूर्वसूचना दिन पनि इजलासले भनेको छ।

निवेदक कार्कीले नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रहरी प्रधान कार्यालय र आईजीपी डा. केसीलाई विपक्षी बनाएर रिट दायर गरेका थिए।

अन्तरिम आदेशसम्बन्धी छलफलमा निवेदकका तर्फबाट वरिष्ठ अधिवक्तासहित कानुन व्यवसायीहरूले बहस गरेका थिए। सरकार, डा. केसी र प्रहरी प्रधान कार्यालयका तर्फबाट समेत कानुन व्यवसायीहरूले आफ्नो पक्ष राखेका थिए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्