नेभिगेशन
सुरक्षा विशेष

कैलाली कारागार घटना:आन्तरिक विवाद नै मुख्य कारण रहेको निष्कर्ष

काठमाडौं । गत साउन २३ गते कैलाली कारागारमा भएको झडपको छानबिन गर्न गठित समितिले कारागारको आन्तरिक प्रशासनमा मतभेदका कारण घटना भएको निष्कर्ष निकालेको छ।

समितिका संयोजक तथा सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीले प्रमुख जिल्ला अधिकारीलाई बुझाएको प्रतिवेदनमा कारागारभित्र रहेका ‘ए ब्लक’ र ‘बी ब्लक’ बीचको आन्तरिक विवाद नै झडपको मुख्य कारण रहेको उल्लेख छ।

जोशीका अनुसार, घटनाको थप तथ्य पत्ता लगाउन विशेषज्ञसहितको उच्चस्तरीय छानबिन समिति आवश्यक देखिएको छ। घटनास्थलको सीसीटीभी फुटेज स्पष्ट नभएको र घाइते तथा संलग्न व्यक्तिहरूको बयानले मात्रै सत्य पुष्टि गर्न नसकिने भएकाले यस्तो विशेषज्ञ समिति आवश्यक भएको उनको भनाइ छ।

गत साउन २३ गते भएको सो झडपमा एक जना कैदीको मृत्यु भएको थियो भने ४९ जना घाइते भएका थिए। गम्भीर घाइते तीन जनाको काठमाडौंमा उपचार भइरहेको छ।

घटनापछि सरकारले कैलालीका प्रमुख जिल्ला अधिकारी र कारागार शाखा प्रमुखलाई सरुवा गरिसकेको छ। १५० जना अट्ने क्षमता भएको कैलाली कारागारमा हाल ६९७ कैदीबन्दी रहेको बताइएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्