नेभिगेशन
सुरक्षा विशेष

संवेदनशिलतालाई ख्याल गरेर मिडिया कर्म गरी सहयोग गर्न पत्रकारहरुलाई बाँकेका सीडीओको आग्रह

नेपालगन्ज । जिल्ला प्रशासन कार्यालय बाँकेमा सरुवा भएर आएका प्रमुख जिल्ला अधिकारी (सीडीओ) दिल कुमार तामाङले कार्यभार सम्हालेका छन् । कार्यभार सम्हालेको भोलिपल्ट आज (मंगलबार) पत्रकारहरुसंग 'परिचयात्मक कार्यक्रम' गरेका तामाङले आफ्नो भूमिका निभाउन इमान्दार प्रयास गर्ने बताए ।

उनले जेनजी आन्दोलनपछि भएको आगजनी र क्षतिका कारण रोकिएको राहदानी सेवा विहीबारदेखि सुचारु गर्ने तयारीमा रहेको बताए । तामाङले नागरिकता र राष्ट्रिय परिचयपत्रको काम आंशिक रुपमा भइरहे पनि पूर्णरुपमा सुचारु हुन नसकेको जानकारी दिँदै कार्यालय मर्मत-सम्भार पुनर्निर्माण गर्दै बिस्तारै लयमा लैजाने कोसिसमा लाग्ने उल्लेख गरे ।

तामाङले शान्ति सुव्यवस्था, अपराध नियन्त्रण लगायत अन्य कुराहरुको समन्वय र सहजीकरण गर्ने कार्यमा सरोकारवाला सबैसँग समन्वय र सहकार्य गरेर कार्य सम्पादन गर्ने इमान्दार प्रयास गर्ने बताए । त्यसका लागि मिडियाको साथ सहयोग लिएर अघि बढ्ने उल्लेख गरेका सीडीओ तामाङले खबरदारी पनि आफूले अपेक्षा गर्ने बताए । 'सार्वजनिक पदमा बसेका अधिकारीलाई नागरिक, सरोकारवालाले खबरदारी गर्नुपर्दछ । तपाईंहरुको खबरदारी र आलोचनाको अपेक्षा गर्दछु,' उनले प्रष्ट्याए-'खाली तपाईंहरुसंग मेरो निवेदन छ कि व्यक्तिगतरुपमा लान्छित गर्ने प्रवृत्तिका कतिपय कुराहरु एकचोटी मेरो तहमा मसंग जोडिएको विषयमा भेरिफाई गरिदिनुहोला ।' उनले जिल्लाको संवेदनशिलतालाई पनि ख्याल गरेर मिडिया कर्म गरी सहयोग गर्न पत्रकारहरुलाई आग्रह पनि गरे । जिल्लामा आपसी सद्भाव, सहिष्णुता कायम गर्ने कुरामा पनि उनले मिडियाको भूमिकाको अपेक्षा गरेको बताए ।

तामाङ कपिलवस्तुबाट बाँके सरुवा भएका हुन् । पाँचथरका तामाङले सीडीओको रुपमा बाँके आफ्नो छैटौं जिल्ला भएको बताए । कार्यक्रममा पत्रकारहरुले जिल्लाको विशिष्टता र संवेदनशिलता बुझेर काम गर्न सुझाव दिए । सीडीओसंग छिटो-छरितो सूचना प्रवाहको वातावरण र मिडियामैत्री ब्यवहारको अपेक्षा राखेको पत्रकारहरुले बताए । कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी पुर्ण खत्री, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाई, बाँके शाखा अध्यक्ष नवीन गिरी लगायत पत्रकारहरुको उपस्थिति थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्