धनगढी । गृहमन्त्री ओमप्रकाश अर्यालको प्रमुख आतिथ्यतामा सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा एकदिवसीय प्रदेशस्तरीय सुरक्षा गोष्ठी सम्पन्न भएको छ। नेपाल सरकार गृह मन्त्रालय र सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा संयुक्त रूपमा मंगलबार आयोजित उक्त गोष्ठी २०८२ सालमा सम्पन्न भएको हो ।
गोष्ठीलाई सम्बोधन गर्दै गृहमन्त्री अर्यालले जनतामा सुरक्षाको अनुभूति दिलाउने, प्रभावकारी सेवा प्रवाह र सुशासन स्थापना गर्ने उद्देश्यले गोष्ठी महत्वपूर्ण हुने विश्वास व्यक्त गरेका थिए । विधिको शासन तथा भ्रष्टाचारप्रति शून्य सहनशीलताको नीति अवलम्बन गर्दै आसन्न निर्वाचनलाई निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गराउनु सरकारको प्रमुख लक्ष्य रहेको उल्लेख गरेका छन् । देखिएका सुरक्षा चुनौतीहरूको सम्बोधनका लागि सुरक्षा निकाय तथा सरोकारवाला निकायहरूबीच थप सहकार्य र समन्वय आवश्यक रहेको उनको भनाइ थियो । सीमित स्रोत–साधनका बाबजुद सुरक्षा निकायले निर्वाह गर्दै आएका भूमिकाको प्रशंसा गर्दै उनले भविष्यमा पनि आवश्यक सहयोग निरन्तर रहने प्रतिबद्धता जनाएका थिए ।
कार्यक्रममा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाह, आन्तरिक मामिला तथा कानून मन्त्री हिरा सार्की र प्रमुख सचिव बैकुण्ठ प्रसाद अर्यालले गोष्ठीको औचित्य र प्रादेशिक सुरक्षाको महत्वबारे आ–आफ्नो धारणा राखेका थिए।
प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले प्रदेशको वर्तमान सुरक्षा अवस्था, अपराधका समस्या र चुनौतीहरूको पहिचान गर्न गोष्ठी उपलब्धिमूलक भएको बताए । गोष्ठीबाट प्राप्त निर्देशन र पृष्ठपोषणलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै आगामी निर्वाचन सुरक्षासहित समग्र प्रदेश सुरक्षा व्यवस्थापनमा समन्वय गरेर काम गर्न उनले उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन दिएका छन् ।
यसैगरी कार्यक्रममा नेपाली सेनाका रथी प्रदीप जंग केसी, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक टेकेन्द्र कार्की तथा गृह मन्त्रालयका सुरक्षा तथा समन्वय महाशाखाका सहसचिव आनन्द काफ्लेले आ–आफ्नो मन्तव्य तथा प्रस्तुतीकरण गरेका थिए । गृह मन्त्रालयका सहसचिव काली प्रसाद पराजुलीले स्वागत मन्तव्य व्यक्त गर्दै गोष्ठीको उद्देश्यबारे प्रकाश पारेका थिए ।
गोष्ठीमा सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले आ–आफ्नो जिल्लाको शान्ति सुरक्षा अवस्था, समस्या, चुनौती, समाधानका उपाय र आगामी कार्यक्रमबारे प्रस्तुतीकरण गरेका थिए । साथै प्रदेशको समग्र सुरक्षा अवस्था, अपराध नियन्त्रण, सीमा सुरक्षा र आगामी कार्यभारका विषयमा विस्तृत छलफल भएको थियो ।
गोष्ठीको अध्यक्षता गरेका गृह सचिव रामेश्वर दंगालले मन्तव्यसहित कार्यक्रमको समापन गरेका थिए । बिहानदेखि सञ्चालन भएको गोष्ठीमा प्रदेशका सुरक्षा निकायका प्रमुख, पदाधिकारी तथा जिल्ला सुरक्षा समितिका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।