नेभिगेशन
सुरक्षा विशेष

ग्रामीण समुदायका महिला अझै हिंसा पीडित

नेपालगञ्ज । अभिभावकमा सचेतनाको अभावले ग्रामीण समुदायका महिलाहरु अझै पनि लैङ्गिक हिंसाबाट पीडित हुने गरेको महिलाहरुले बताएका छन्।

महिला, कानुन र विकास मञ्चको सहकार्यमा सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगञ्जले बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर २ मा गरेको समूहगत छलफलका सहभागीहरुले परम्परागत सोचका कारण अझै पनि आफ्ना बालिकाहरुलाई उच्च शिक्षा नदिनु दुर्भाग्यपूर्ण अवस्था रहेको बताएका छन् ।

उनीहरुले समाजमा व्याप्त विभिन्न कुरितीले महिलाहरु समाजमा अघि बढ्न नपाएको बताएका थिए । महिलाहरुले बाल विवाह, दाइजो प्रथा, जातीय भेदभाव, बहुविवाहको समस्याले किशोरी तथा महिलाहरु समस्यामा परेको बताएका छन् । मधेशी समुदायमा अझै पनि शिक्षाको अभाव भएकाले सबैभन्दा पहिला चेतना अभिबृद्धि गरी उनीहरुको जीवन परिवर्तन गर्नुपर्नेमा जोड दिइएको छ । कार्यक्रममा महिला अगुवा लिलावती यादव, संस्थाका उपाध्यक्ष कृष्णमुरारी प्रसाद भट्ट, रविन्द्र ज्ञवाली, देवकी यादव, ध्रुब बर्मा लगायतले समाजमा सचेतना अभिबृद्धि भएमा लैङ्गिक हिंसा न्यूनीकरण हुने विश्वास व्यक्त गरे ।

महिला तथा बालिका हिंसाविरुद्ध नीतिगत सुधार तथा सचेतना कार्यक्रम अन्तर्गत लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियानका अवसरमा उक्त कार्यक्रम गरिएको हो । संस्थाले बाँके र बर्दियाका चार वटा स्थानीय तहमा महिला तथा बालिका हिंसाविरुद्ध ऐन, कानुन, नीति तथा कार्यविधि निर्माण गर्ने संस्थाका कार्यकारी निर्देशक राकेश कुमार मिश्रले जानकारी दिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्