नेभिगेशन
सुरक्षा विशेष

खजुरा क्षेत्रको सीमामा अवैध गतिविधि रोक्न नेपाल–भारतका सुरक्षा फौज एकैसाथ गस्तीमा

। नेपाल–भारत सीमा क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रण गर्दै सीमा सुरक्षा सुदृढ बनाउने उद्देश्यका साथ संयुक्त पैदल गस्ती सञ्चालन गरिएको छ।

बाँकेको खजुरास्थित इलाका प्रहरी कार्यालय धनौली, सशस्त्र प्रहरी बल, नेपाल बिओपी बढैया तथा भारतीय सीमा सुरक्षा बल (एसएसबी) पोष्ट  बक्सीबाट खटिएको संयुक्त टोलीले खजुरा क्षेत्रको सीमा  नाका अन्तर्गतका सीमावर्ती इलाकाहरूमा पैदल गस्ती गरेको हो।

गस्तीका क्रममा चोरी–तस्करी, अवैध आवतजावत, सीमा सम्बन्धी विवाद तथा झैँ–झगडाजस्ता गतिविधिको रोकथाम र नियन्त्रणमा विशेष ध्यान दिइएको जनाइएको छ। साथै, सीमावर्ती क्षेत्रमा शान्ति सुरक्षा कायम राख्दै दुवै मुलुकका सुरक्षा निकायबीच आपसी समन्वय, विश्वास र सम्बन्धलाई अझ मजबुत बनाउने उद्देश्यसमेत गस्तीको मुख्य लक्ष्य रहेको बताइएको छ।

सुरक्षा निकायका अनुसार यस्ता संयुक्त गस्तीले सीमावर्ती क्षेत्रमा अपराध न्युनिकरणमा टेवा पुग्नुका साथै आम नागरिकमा सुरक्षाको अनुभूति बढाउने विश्वास लिइएको छ। आगामी दिनमा पनि आवश्यकता अनुसार नेपाल–भारत सीमामा संयुक्त रुपमा यस्ता गस्तीलाई निरन्तरता दिइने जनाइएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्