नेभिगेशन
सुरक्षा विशेष

वैदेशिक रोजगारी ठगी विरुद्ध बाँकेमा प्रहरीसँग अन्तरक्रिया तथा अभिमुखीकरण

नेपालगञ्ज । सुरक्षित बैदेशिक रोजगारीका लागि नेपालगञ्जमा प्रहरीसंग अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रम गरिएको छ । सुरक्षित आप्रवासन (सामी) कार्यक्रम ले प्रहरीसंग अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रम गरेको हो ।

सामीका जिल्ला संयोजक कमल सिंह नेपालीका अनुसार बैदेशिक रोजगारीमा हुने ठगी न्यूनीकरण तथा ठगी सम्बन्धि मुद्दाहरु छिटो-छरितो तरिकाले अघि बढाउन सहजीकरण गर्ने उद्देश्यले प्रहरीहरुसंग छलफल तथा अन्तरक्रिया कार्यक्रम गरिएको हो ।

अभिमुखीकरणमा बाँकेका प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङले बैदेशिक रोजगारीलाई सुरक्षित, भरपर्दो र मर्यादित बनाउन प्रशासनको भूमिकाका विषयमा प्रस्तुतिकरण गरेका थिए भने बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक अंगुर जिसीले प्रहरीको तदारुकता र भूमिकाका विषयमा प्रस्तुतिकरण गरेका थिए । कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले बैदेशिक रोजगारीका क्रममा हुने ठगीको अवस्थालाई न्यूनीकरण गर्ने तथा ठगीका मुद्दालाई प्राथमिकता दिँदै पीडितलाई न्याय दिलाउने भूमिकामा प्रहरीको तदारुकता जरुरी रहेको बताए । प्रमुख प्रशासकीय अधिकृत रामहरि शर्माले बैदेशिक रोजगारीलाई सुरक्षित र मर्यादित बनाउन सचेतना प्रबद्र्धनसंगै कानुनी अभिमुखीकरण, आर्थिक सहायता लगायतका विषयमा सामीले काम गरिरहेको बताए ।

सामाजिक विकास अधिकृत कृष्ण प्रसाद जोशीले सहजीकरण गरेको कार्यक्रममा सामीका जिल्ला संयोजक नेपालीले प्रगति विवरण प्रस्तुत गरेका थिए । सुरक्षित आप्रवासन (सामी) कार्यक्रम बाँकेका ६ पालिकामा सञ्चालनमा छ । नेपालगञ्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, खजुरा गाउँपालिका, बैजनाथ गाउँपालिका, जानकी गाउँपालिका र नरैनापुर गाउँपालिकामा सञ्चालित छ । राप्तीसोनारी र डुडुवामा सञ्चालनको क्रममा छ ।

सामी कार्यक्रम नेपाल सरकार र स्वीस सरकारको द्विपक्षीय सम्झौता अन्तर्गत सञ्चालनमा छ । यो श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र स्थानीय सरकारको नेतृत्वमा कार्यान्वयन भइरहेको छ । कार्यक्रमलाई स्वीस सरकारको तर्फबाट प्राविधिक सहयोग हेल्भेटास नेपालले उपलब्ध गराएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्