नेभिगेशन
सुरक्षा विशेष

नारायण प्रसाद गौडेलको प्रतिबद्धता: अब जंगली जनावरका कारण कसैलाई पीडित बन्न दिन्न

बाँके । बाँके क्षेत्र नं. १ का कांग्रेसका प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार नारायण प्रसाद गौडेलले राप्तीसोनारी क्षेत्रमा जंगली जनावरका कारण पीडित बनेका नागरिकको समस्या समाधानलाई प्राथमिकतामा राख्ने बताएका छन्।

घरदैलो अभियानका क्रममा राप्तीसोनारी गाउँपालिका वडा नं. ८ र ९ का विभिन्न बस्तीमा पुगेर उनले निकुञ्ज आसपासका बासिन्दासँग प्रत्यक्ष संवाद गरेका हुन्। बालापुर, ओभरी, पेरानी, धर्मोती, ढकेरी, नयाँ गाउँ, गुरुवा गाउँ र बुचापुर लगायतका बस्तीमा पुगेका गौडेलसँग स्थानीयले वन्यजन्तुको आक्रमणबाट हुने जनधनको क्षतिबारे गुनासो गरेका थिए।

बाघ तथा चितुवाको आक्रमणका कारण सर्वसाधारणले ज्यान गुमाउनुपरेको, खेतबारीमा काम गर्न, दाउरा–घाँस संकलन गर्न तथा बालबालिकालाई विद्यालय पठाउनसमेत त्रासको वातावरण रहेको उनीहरूले बताएका थिए।

स्थानीयले वन्यजन्तु संरक्षणका नाममा मानव सुरक्षालाई बेवास्ता गर्न नहुने भन्दै दीर्घकालीन समाधानको माग गरेका छन्। निकुञ्ज क्षेत्र नजिक बसोबास गर्ने नागरिक महिनौँपिच्छे आक्रमणको जोखिममा रहनुपरेको गुनासो उनीहरूको छ।

घरदैलोका क्रममा गौडेलले वन्यजन्तु संरक्षण ऐन, २०२९ समयसापेक्ष संशोधन गर्नुपर्ने आवश्यकता औंल्याए। संरक्षण र मानव सुरक्षाबीच सन्तुलन कायम गर्न कानुनी तथा संरचनागत सुधार अपरिहार्य रहेको उल्लेख गर्दै उनले संसदमा पुगेपछि निकुञ्ज पीडित नागरिकको सुरक्षाका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।

उनले जंगली जनावरबाट हुने क्षतिका लागि प्रभावकारी राहत व्यवस्था, सुरक्षात्मक संरचना निर्माण तथा दीर्घकालीन समाधानका कार्यक्रम अघि बढाउनुपर्नेमा जोड दिदै उनले भने-' “अब जंगली जनावरका कारण कसैलाई पीडित बन्न दिन्न।'

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्