नेभिगेशन
भ्रष्टाचार

नेपालगन्ज–२० का वडाध्यक्षसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

नेपालगन्ज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपालगन्ज उपमहानगरपालिका वडा नं. २० का वडाध्यक्ष कौशल कुमार धोबीसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। 

आयोगले सरकारी कागजात सच्याएको, सरकारी छापको दुरुपयोग गरेको तथा गैरकानुनी लाभ प्राप्त गर्ने उद्देश्यले मिलेमतो गरी काम गरेको आरोपमा वडाध्यक्ष धोबी, वडा सचिव वीरबहादुर थापा मगर, नेपालगन्ज -२० का रविन्द्र लामिछाने र उदयपुर चौदण्डीगढी नगरपालिका वडा नं. ५ बस्ने विकास कुमार चापागाईंविरुद्ध विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको हो।

आयोगका अनुसार नेपालगन्ज उपमहानगरपालिका वडा नं. २० का वडा अध्यक्षसमेतले पदको दुरुपयोग गरी सरकारी कागजात सच्याएको भन्ने बेहोराको प्राप्त उजुरीका सम्बन्धमा अनुसन्धान गर्दा वडाध्यक्ष कौशल कुमार धोबी, वडा सचिव वीर बहादुर थापा मगर तथा भ्रष्टाचार तथा सम्पत्ति शुद्धीकरण मुद्दा (मुद्दा नं. ०८२- cr-०१०३) का प्रतिवादीहरू विकास कुमार चापागाईं र रविन्द्र लामिछानेसमेतको आपसी मिलेमतो तथा योजनामा आफू समेतका प्रतिवादीहरूलाई गैरकानुनी लाभ प्राप्त गराउने बदनियत रहेको देखिएको आयोगले जनाएको छ। 

विशेष अदालतमा विचाराधीन रहेको रविन्द्र लामिछानेसमेत प्रतिवादी भएको घुस- रिसवत बुझी लिई सम्पत्ति शुद्धीकरण गरेको मुद्दामा योजनाबद्ध रूपमा प्रमाण सिर्जना गर्ने गराउने बदनियतले मिति २०७९-०४-१० गते रविन्द्र लामिछाने र विकास कुमार चापागाईंको जिल्ला भक्तपुर, मध्यपुर थिमी नगरपालिका वडा नं. १७ स्थित कित्ता नं. ९९८, क्षेत्रफल १६४.१४ वर्गमिटरको जग्गा खरिद प्रयोजनार्थ रु. ७०,००,००० अर्थात् ७० लाख रुपैयाँ लेनदेनको झुट्टा तथा नक्कली करारनामा तयार गरी गराई वडा कार्यालयको आ.व. २०७९-८० को लिखत प्रमाणित दर्ता किताब मिति २०८३ सालमा सच्याई थपघट गरी गराई प्रमाणित गरेको तथा हाल प्रयोग प्रचलनमा रहेको वडा कार्यालयको सरकारी छापको दुरुपयोगसमेत गरे गराई प्रतिवादीहरूले गैरकानुनी लाभ लिएको पुष्टि भएको अख्तियारको भनाइ छ।

आयोगका अनुसार वडाध्यक्ष कौशल कुमार धोबी र वडा सचिव वीरबहादुर थापा मगरसमेतले आफ्नो पद तथा ओहदाको दुरुपयोग गरी गराई मिति २०८३-०३-२९ गते च.नं. ७२४० को विवरणसमेत फेरबदल गरी गराई च.नं. ७२४२ गतेको झुट्टा विवरण सहितको गलत लिखत तयार गरी गराई आयोगको अभिलेखमा रहने गरी पत्राचार गराएको पुष्टि भएको छ। 

प्रतिवादीहरूको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ र ११ बमोजिमको कसुर भएको हुँदा उनीहरूविरुद्ध  देहायबमोजिमको कसुरमा देहायबमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ।

अख्तियारले नेपालगन्ज उपमहानगरपालिका वडा नं. २० का वडा अध्यक्ष कौशल कुमार धोबीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ र दफा ११ बमोजिमको कसुरमा सोही ऐनको दफा ९ र दफा ११ बमोजिम कैद र जरिवाना सजाय हुन मागदाबी गरेको छ। त्यसैगरी नेपालगन्ज उपमहानगरपालिका वडा नं. २० का वडा सचिव वीरबहादुर थापा मगरविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ बमोजिमको कसुरमा सोही ऐनको दफा ९ बमोजिम कैद र जरिवाना सजाय हुन मागदाबी लिइएको छ।

नेपालगन्ज उपमहानगरपालिका वडा नं. २० बस्ने रविन्द्र लामिछाने र  उदयपुरक्क चौदण्डीगढी नगरपालिका वडा नं. ५ बस्ने विकास कुमार चापागाईंविरुद्ध भने भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ र दफा ११ बमोजिमको कसुरजन्य कार्यको गैरकानुनी लाभ लिने प्रकृतिको मतियार भई सोही ऐनको दफा २२ बमोजिमको कसुर भएको हुँदा मुख्य कसुरदारहरूलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ र दफा ११ बमोजिम हुने सजायलाई आधारमानी सोही ऐनको दफा २२ को प्रतिबन्धात्मक वाक्यांश बमोजिम मुख्य कसुरदारसरह सजाय हुन मागदाबी लिइएको अख्तियारले जनाएको छ।

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्