नेभिगेशन
नेपाल प्रहरी

जुवाखालबाट १२ जना जुवाडे प्रहरीको नियन्त्रणमा

बाँके । बाँकेको खजुरा गाउँपालिकामा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले १२ जनालाई पक्राउ गरेको छ। उनीहरूको साथबाट ५७ हजार ४०० रुपैयाँ नगद र तासका दुई गड्डी बरामद गरिएको छ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार असोज २६ गते खजुरा गाउँपालिका–७ सोनवर्षास्थित विष्णु वर्माको खाली घरमा जुवातास खेल भइरहेको सूचनापछि इलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरी टोलीले छापा मारेको थियो।

छापा मार्ने क्रममा जुवातास खेलिरहेको अवस्थामा १२ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। घटनास्थलबाट खोलिएको तासको एक गड्डी, नखोलिएको तासको एक गड्डी र नगद ५७ हजार ४०० रुपैयाँ बरामद गरिएको हो।

पक्राउ पर्नेमा जानकी गाउँपालिका–३ इन्द्रपुरका ३४ वर्षीय अर्जुनकुमार वर्मा, खजुरा गाउँपालिका–७ सोनवर्षाका ३५ वर्षीय सन्तोष वर्मा, ३१ वर्षीय पवनकुमार यादव, ३८ वर्षीय इशरार अहमद खाँ, ५३ वर्षीय हरिहर कुर्मी, ३५ वर्षीय मनोजकुमार राढ, ३८ वर्षीय बराती राढ, ४५ वर्षीय प्रभु दमाल राढ र २८ वर्षीय विक्रम राढ रहेका छन्।

त्यस्तै, खजुरा गाउँपालिका–८ रनियापुरका ६३ वर्षीय सन्नाम कसाई र ६४ वर्षीय वकिल कुरेसी पनि पक्राउ परेका छन्। प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार उनीहरू २८ देखि ६४ वर्ष उमेर समूहका पुरुष हुन्।

पक्राउ परेका सबैलाई जुवासम्बन्धी कसुरमा अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय बाँकेबाट तीन दिनको म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्