नेभिगेशन
नेपाली सेना

विमानस्थल र कारागार सुरक्षाको जिम्मेवारी सेनाले सम्हाल्दै

काठमाडौँ । नेपाली सेनाले विमानस्थल,कारागार लगायत महत्त्वपूर्ण प्रतिष्ठानको सुरक्षाको जिम्मेवारी पाएको छ।

आगामी  प्रतिनिधि सभा सदस्य निर्वाचनको सुरक्षाका लागि नेपाली सेनालाई बाहिरी सुरक्षा (आउटर सेक्युरिटी) जिम्मेवारी दिदै ती स्थानको सुरक्षाको जिम्मेवारी दिइएको हो। निर्वाचनका लागि मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मंसिर ११ मा तीन चरणमा सेना परिचालन गर्ने निर्णय गरेका हुन्।

एकीकृत सुरक्षा योजना अनुसार निर्वाचनको ३० दिनअघि नै सेनाले फ्ल्याग मार्च र गस्ती सुरु गर्नेछ। मतदानअघि, मतदानका दिन तथा मतगणना सम्पन्न नभएसम्म सेना परिचालन हुनेछ। निर्वाचन अवधिमा हाल नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले गर्दै आएको महत्त्वपूर्ण प्रतिष्ठान, कारागार र विमानस्थलको सुरक्षा सेनाले सम्हाल्नेछ। मतदान सकिएको १५ दिनपछि ती सुरक्षाको जिम्मेवारी पुनः सम्बन्धित निकायलाई हस्तान्तरण गरिनेछ।

सेनाले मतपत्र छपाइ, मतपेटिका तथा निर्वाचन सामग्रीको ढुवानीमा समेत सुरक्षा प्रदान गर्नेछ। आपतकालीन उद्धारका लागि सैनिक जनशक्ति र हेलिकप्टर प्रयोग गर्ने व्यवस्था गरिएको छ। सम्भावित विष्फोटक जोखिम न्यूनीकरणका लागि बम डिस्पोजल टोली पनि परिचालन हुनेछ।

जंगी अड्डामा ‘एकीकृत निर्वाचन सुरक्षा कक्ष’ स्थापना गरिएको छ भने पृतना तहमा पनि सुरक्षा नियन्त्रण कक्ष सञ्चालन गरिनेछ। जिल्ला सुरक्षा समितिको निर्णयअनुसार अपरेसन बेसबाट रणनीतिक स्थानमा सैनिक पिकेट परिचालन गरिनेछ।

मतदानका दिन प्रत्येक मतदान केन्द्रमा ३० मिनेटभित्र पुग्न सक्ने गरी सेना तयारी अवस्थामा रहनेछ। निर्वाचन अधिकृतको अनुरोधमा प्रमुख जिल्ला अधिकारीमार्फत आवश्यक सबै सुरक्षा जिम्मेवारी सेनाले सम्हाल्ने व्यवस्था गरिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्