काठमाडौं। सरोकार केन्द्रले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दान बहादुर कार्कीलाई विभिन्न सार्वजनिक र प्रशासनिक विषय समेटेर ध्यानाकर्षक सुझाव पत्र प्रस्तुत गरेको छ।
सरोकार केन्द्रबाट गएको पदाधिकारीको टोलिले सुझाव पत्रमा विशेषगरी बैदेशिक रोजगार र मानव तस्करी नियन्त्रणमा सुधारका उपायहरू प्रस्तुत गरेको महासचिव जीवन शर्माले जानकारी दिए। “हामीले वैदेशिक रोजगारसम्बन्धी चुनौतीहरू, रोजगारीका अवैध माध्यम र मानव तस्करी नियन्त्रणमा नेपाल प्रहरीले गर्न सक्ने पहलहरूलाई केन्द्रमा राखेर सुझाव पत्र तयार गरेर आईजीपी सापलाई बुझाएकाछौँ। यसले सम्बन्धित निकायहरूलाई नीति निर्माण र व्यावहारिक कदम चाल्न सहयोग पुर्याउनेछ।”
सुझाव पत्रमा समेटिएका मुख्य बुँदाहरूमा बैदेशिक रोजगारको पारदर्शिता र सुरक्षित माध्यम सुनिश्चित गर्ने उपाय ,मानव तस्करी र ओसारपसार रोकथामका लागि समन्वय र निगरानी बलियो बनाउने रणनीति ,सामाजिक जागरूकता अभिवृद्धि गर्ने कार्यक्रम सञ्चालन गर्ने सिफारिस लगायत छन् ।
सरोकार केन्द्रले स्थापना कालदेखि वैदेशिक रोजगारमा अलपत्र परेका नागरिकको उद्धार, सामाजिक सचेतना अभिवृद्धि, शिक्षा, स्वास्थ्य, रोजगारमूलक सीप र नागरिक हकहितका लागि निरन्तर पहल गर्दै आएको छ। यस क्रममा २५ भन्दा बढी सामुदायिक विद्यालयमा जनचेतनामूलक कार्यक्रमहरू सम्पन्न गरिएको छ भने मानव तस्करी र वैदेशिक रोजगारको क्रममा अलपत्र परेका ४९ जनालाई उद्दार र ५५ जनालाई निशुल्क कानुनी सेवा उपलब्ध गराइएको छ।
आईजीपी कार्कीले पत्रलाई स्वागत गर्दै, नेपाल प्रहरीको नेतृत्वमा सुरक्षा व्यवस्थापन, कानुनी कार्यान्वयन र जनसहभागिता प्रवर्द्धन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। सरोकार केन्द्रको यो पहललाई नागरिक समाज र प्रहरीबीच सकारात्मक संवाद र सहकार्यको उदाहरणका रूपमा हेरिएको छ।
सरोकार केन्द्रको उद्देश्य लोकतान्त्रिक मूल्य, स्थायित्व र सुशासनमा टेवा पुर्याउनु हो। मानव बेचबिखन, वैदेशिक रोजगार ठगी, साइबर अपराध, लागुऔषध दुर्व्यसन, पर्यावरण संरक्षण, शिक्षा, स्वास्थ्य र रोजगारमूलक सीपका क्षेत्रमा सरकार र नागरिकबीच सेतुको भूमिका निर्वाह गर्नु यस संस्थाको मुख्य लक्ष्य रहेको छ।
विद्युतीय साइबर अपराध, अनलाइन ठगी, डिजिटल शोषण, सफ्टवेयर चोरी र बालबालिकामाथि हुने यौनजन्य अपराध रोकथामका लागि सरोकार केन्द्रले निरन्तर सामाजिक सचेतना र कानुनी ज्ञान अभिवृद्धिमा काम गर्दै आएको छ। यसका साथै, वैदेशिक रोजगार ठगी, मानव तस्करी र अन्य अपराधमा संलग्न व्यक्तिहरूलाई कानूनी दायरामा ल्याएर अपराध न्यूनीकरण गर्न नेपाल प्रहरीको सक्रियता आवश्यक रहेको केन्द्रले जोड दिएको छ।
सरोकार केन्द्रको यो पहलले नागरिक, सुरक्षा निकाय र सरकारबीच सहकार्य बलियो बनाउने, मानव अधिकारको संरक्षण गर्ने र समाजलाई सुरक्षित, स्वस्थ र अपराधमुक्त बनाउन योगदान पुर्याउने विश्वास व्यक्त गरिएको छ।
सुझाव पत्र हस्तान्तरणका क्रममा कार्यक्रमका प्रमुख संयोजक सरोकार केन्द्रका अध्यक्ष तथा वरिष्ठ अधिवक्ता गोविन्द पन्थीको समेत उपस्थिति रहेको थियो।