नेभिगेशन
सुरक्षा विशेष

अमेरिका बस्ने सपना अधुरै, ८० नेपाली एकै दिन डिपोर्ट

काठमाडौं । अमेरिकाले एकै दिन ठूलो संख्यामा नेपाली नागरिकलाई  डिपोर्ट गरेर नेपाल फर्काएको छ। अमेरिकाले चाटर्ड विमानबाट ८० जना नेपालीलाई डिपोर्ट गरेर काठमाडौं ल्याएर छाडेको हो।

अमेरिकाको नेपाल डिपोर्ट गरेकाहरुमा ७९ जना पुरुष र एक जना महिला रहेको अध्यागमन विभागका प्रवक्ता टिकाराम ढकालले बताए । उनीहरूलाई अमेरिकाले  कागजात नपुगेका, गैरकानुनी रूपमा बसेका तथा अध्यागमन कानुन उल्लंघन गरेका कारण  डिपोर्ट गरेको प्रवक्ता ढकालले जानकारी दिएका छन् । उनीहरु सबैलाई अमेरिकी जहाजले मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याएर छोडेको थियो।

यता, मानव बेचबिखन अनुसन्धान ब्यूरोका एसएसपी कृष्ण पंगेनीले डिपोर्ट गरिएका व्यक्तिमध्ये एक जना विद्यार्थी भिसामा अमेरिका पुगेका व्यक्ति पनि रहेको बताएका छन्।  ती विद्यार्थीले भिसाको अवधि सकिएपछि पनि अमेरिकामा बसोबास जारी राखेकाले ‘ओभरस्टे’ को कारण डिपोर्ट गरिएको पाइएको  एसएसपी पंगेनीले बताए।

त्यसैगरी डिपोर्ट हुनेहरुमा अधिकांश भने अवैध बाटो हुँदै  अमेरिका पुगेको प्रारम्भिक अनुसन्धानबाट खुलेको एसएसपी पंगेनीले जानकारी दिएका छन् । यसरी अमेरिका प्रवेश गर्न कतिपयले १ करोड ५० लाख रुपैयाँसम्म खर्च गरेको पाइएको उनको भनाइ छ। फिर्ता आएका केही व्यक्तिले ठूलो रकम बुझाएर मानव तस्करको सहायतामा अमेरिका पुगेको स्वीकार गरेको पंगेनीले बताए।

ब्यूरोले डिपोर्ट भएर आएका सबैसँग सोधपुछ गरी परिवारको जिम्मा लगाइसकेको जनाएको छ ।  साथै, कसैले गैरकानुनी रूपमा अमेरिका पठाएको प्रमाण भए उजुरी दिनसमेत सम्बन्धित व्यक्तिहरूलाई आग्रह गरिएको मानव बेचबिखन अनुसन्धान ब्यूरोले जानकारी दिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्