नेभिगेशन
सुरक्षा विशेष

निर्वाचनमा राष्ट्रिय झण्डा दुरुपयोग गरे कारबाही हुन्छ: गृह मन्त्रालय

काठमाडौं । गृह मन्त्रालयले निर्वाचनका क्रममा राष्ट्रिय झण्डाको मर्यादा उल्लङ्घन हुने कुनै पनि गतिविधि भए कानुनी कारबाही गरिने स्पष्ट पारेको छ। मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले विज्ञप्ति जारी गर्दै राष्ट्रिय झण्डाको अपमान हुने कार्य सह्य नहुने बताएका हुन्।

विज्ञप्तिमा राष्ट्रिय झण्डाको प्रयोग ‘राष्ट्रिय झण्डा तथा राष्ट्रिय गानको प्रयोगसम्बन्धी कार्यविधि, २०६९’ अनुसार मात्र गर्न अनुरोध गरिएको छ। विशेषगरी प्रचार–प्रसार तथा विज्ञापनको उद्देश्यले राष्ट्रिय झण्डा प्रयोग गर्न नपाइने मन्त्रालयले जनाएको छ।

यस्तै, व्यक्तिले आफ्नो शरीरमा राष्ट्रिय झण्डाको चिन्ह टाँस्दा, छाप्दा वा लगाउँदा कम्मरभन्दा माथिको भागमा मात्र प्रयोग गर्न पाइने व्यवस्था छ। छातीभन्दा तलको भागमा लगाइने भित्री वा बाहिरी कपडामा राष्ट्रिय झण्डाको प्रतिक वा चित्र राख्न निषेध गरिएको छ।

झण्डा चन्द्रमाको भाग तल पर्ने गरी प्रयोग गर्न नपाइने, साथै फहराउने प्रयोजनबाहेक राष्ट्रिय झण्डा ओढ्ने वा अन्य कुनै किसिमले प्रयोग गर्न नमिल्ने पनि विज्ञप्तिमा उल्लेख छ।

निर्वाचनका क्रममा राजनीतिक दल वा उम्मेदवारले जुलुस, आमसभा तथा घरदैलो कार्यक्रम गर्दा बढीमा १० वटा मात्र राष्ट्रिय झण्डा प्रयोग गर्न पाउने व्यवस्था गरिएको छ। तर, निर्वाचन प्रचारप्रसारका लागि राष्ट्रिय झण्डा प्रयोग नगर्न गृह मन्त्रालयले सबै सरोकारवालालाई पुनः सचेत गराएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्