नेभिगेशन
सुरक्षा विशेष

फागुन २१ को निर्वाचनको ७२ घण्टाअघिनै सीमा बन्द गर्ने निर्णय

काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै मतदान हुनुभन्दा ७२ घण्टा अघिदेखि  नेपालका अन्तर्राष्ट्रिय नाकाहरू बन्द गर्ने निर्णय गरिएको छ। मंगलबार निर्वाचन आयोगमा बसेको उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकले नेपाल–भारत र नेपाल–चीन सीमा अस्थायी रूपमा सिल गर्ने सहमति गरेको हो।

बैठकमा सहभागी एक उच्च अधिकारीका अनुसार मतदान अवधिभर सीमा क्षेत्रमा आवागमन नियन्त्रण गरिनेछ, ताकि सुरक्षा व्यवस्थामा कुनै कमजोरी नआओस्।

बैठकमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, आयोगका सचिव कृष्ण बहादुर राउत, नेपाल प्रहरीका महानिरीक्षक दान बहादुर कार्की, सशस्त्र प्रहरी बलका प्रमुख राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख तथा नेपाली सेनाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

निर्वाचन अवधिमा मादक पदार्थको बिक्री–वितरणमा पनि कडाइ गर्ने विषयमा छलफल भएको छ। यस सम्बन्धमा आयोगले छिट्टै समयसीमा तोकेर औपचारिक सूचना जारी गर्ने तयारी गरेको बताइएको छ।

यसैबीच, फागुन १९ गते पर्ने तराई क्षेत्रको होली पर्व र जनकपुरमा सञ्चालन हुने माध्यमिकी परिक्रमा मेलालाई व्यवस्थापन गर्ने विषयमा समेत विचार–विमर्श भएको छ। भारतको सितामढीबाट ठूलो संख्यामा श्रद्धालुहरू जनकपुरस्थित जानकी मन्दिर आउने परम्परा रहेकाले त्यसको व्यवस्थापन कसरी गर्ने भन्नेबारे सुरक्षा निकायसँग समन्वय गरिनेछ। मौन अवधिसँगै होली पर्व जुध्ने भएकाले त्यसलाई मर्यादित र व्यवस्थित बनाउन विशेष योजना बनाइने जनाइएको छ।

विदेशी नम्बर प्लेटका सवारी साधन सञ्चालनमा प्रतिबन्ध लगाउने विषयमा पनि छलफल भएको छ। यसबारे अन्तिम निर्णय गर्ने अधिकार आयोगलाई दिइएको छ।

त्यस्तै, हिमाली जिल्लामा भइरहेको हिमपातका कारण निर्वाचन सामग्री ढुवानी तथा सुरक्षाकर्मी परिचालनमा देखिन सक्ने चुनौतीबारे पनि बैठकमा समीक्षा गरिएको छ। मतपेटिका र आवश्यक सामग्री सुरक्षित रूपमा गन्तव्यसम्म पुर्‍याउन विशेष तयारी गरिने बताइएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्